आन्दोलन स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह

आन्दोलन स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आन्दोलनका कार्यक्रम स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

‘निजामती विधेयक अगाडि बढेको छ । आज यो विधेयक पास गर्ने तयारी पनि थियो । तर एक पटक प्रतिवेदन पढौँ भन्ने कुरा भएको छ । यो प्रक्रिया पनि ठिक छ,’ महामन्त्री थापाले भने ।

यस्तो बेला कर्मचारी ट्रेड पनि सकारात्मक हुनुपर्ने उनको आग्रह छ । ‘विधेयक टुंग्याइरहेका बेला ट्रेड युनियनको आन्दोलन रोक्न म आग्रह गर्छु,’ महामन्त्री थापाले भने ।

यसअघि मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती कर्मचारी ट्रेड युनियनका नेताहरूले समितिमै उपस्थित भएर विभिन्न १० बुँदे माग पेस गर्दै पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएका थिए ।

उनीहरूले ७२ घण्टाभित्र आफ्ना माग सम्बोधन गर्दै निजामती कर्मचारी विधेयक अगाडि बढाउन आग्रह गर्दै त्यसो नभए आन्दोलनको अर्को चरण सुरु हुने चेतावनी दिएका हुन् ।

‘७२ घण्टाभित्र माग सम्बोधन भएर विधेयक अगाडि नबढे आन्दोलनको अर्को चरण सुरु हुनेछ,’ बैठकमा नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले भनेका थिए ।

निजामती विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ । संसद्को वर्षे अधिवेशन १२ वैशाखबाट सुरु हुँदैछ ।