डा.शेखर कोइरालाद्वारा पहलगाम आक्रमणको कडा निन्दा, आतंकवादविरुद्ध एक हुने आग्रह

डा.शेखर कोइरालाद्वारा पहलगाम आक्रमणको कडा निन्दा, आतंकवादविरुद्ध एक हुने आग्रह


काठमाडौं । नेपाली काग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले अप्रिल २२ मा कश्मीरको पहलगाममा निर्दोष सर्वसाधारणमाथि भएको आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। उनले घटनामा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति गहिरो समवेदना र सहानुभूति प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

शोक र पीडाको यस घडीमा, डा. कोइरालाले भारतसँग ऐक्यबद्धता व्यक्त गर्दै भारतीय जनता, सरकार तथा आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेको परिवारप्रति समर्थन र सहानुभूति प्रकट गरेका छन्। साथै उनले यो जघन्य अपराधका दोषीहरूलाई चाँडै न्यायको कठघरामा ल्याउन आग्रह गरेका छन्।

डा. कोइरालाले आतंकवादका सबै रूप र अभिव्यक्तिको स्पष्ट र दृढ शब्दमा निन्दा गर्दै भने, “जहाँबाट र जुन उद्देश्यका लागि गरिए पनि, कुनै पनि अवस्थामा आतंकवादलाई औचित्यपूर्ण ठहर गर्न सकिँदैन।”
उनका अनुसार, आतंकवाद शान्ति, सुरक्षा र समृद्धिका लागि गम्भीर चुनौती हो र यसले दक्षिण एशियाली क्षेत्रको वास्तविक सम्भावनालाई रोकिराखेको छ।
डा. कोइरालाले सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई आतंकवादविरुद्ध एकजुट भएर उभिन आह्वान समेत गरेका छन्।