हेटौंडा |
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र थापाछानेले लागुऔषध र मदिरा दुरुपयोगले समाजमा गम्भीर समस्या निम्त्याएको भन्दै यसको नियन्त्रणका लागि कडा कदम चाल्ने बताउनुभएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडामा आयोजना गरेको प्रदेशस्तरीय लागुऔषध तथा मदिरा नियन्त्रण कार्यशालाको उद्घाटन गर्दै मन्त्री थापाछानेले सुन्दर समाज निर्माणका लागि यस्ता दुव्र्यसन त्याग्नुपर्नेमा जोड दिनुभयो।उहाँले लागुऔषध र मदिराका कारण घरेलु झगडा, हत्या, बलात्कारजस्ता अपराध बढेको बताउँदै यसले पुस्ता र संस्कारमै असर पारेको उल्लेख गर्नुभयो। “लागुऔषध र मदिराले कसैलाई फाइदा गरेको छैन। युवापुस्ता यसको चपेटामा परेको छ, विद्यालय क्षेत्रमै व्यसन फैलिएको छ,” उहाँले भन्नुभयो।
गरिबी, बेरोजगारी, र युद्धग्रस्त क्षेत्रमा यस्ता समस्या बढी देखिएको उहाँको भनाइ छ।मन्त्री थापाछानेले लागुऔषध ओसारपसार र सेवन नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकता औंल्याउँदै व्यवस्थित पुनर्स्थापना र सचेतना कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। उहाँले व्यावसायिक गाँजा खेती र औषधीय प्रयोगको सम्भावनाबारे अध्ययनमा चुनौती रहेको बताउँदै प्रदेशस्तरीय नियन्त्रण निर्देशिका बनाएर सुरक्षा निकायसँग समन्वय गरी अभियान चलाउने जानकारी दिनुभयो।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विशालराज बस्नेतले हेटौंडा लागुऔषधको ट्रान्जिट प्वाइन्ट बनेको खुलासा गर्नुभयो। मकवानपुरका गाउँ र बस्तीमा लक्षित नियन्त्रण अभियान थालिएको उहाँले बताउनुभयो।
मन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ९ महिनामा ४,००० किलोभन्दा बढी गाँजा र १९ किलो अफिम बरामद गरिएको छ।मन्त्री थापाछानेले कानुन मन्त्रालय, नेपाल प्रहरी, र पुनर्स्थापना केन्द्रसँगको सहकार्यमा सचेतना, सामाजिक पुनर्स्थापना, र सम्मानित जीवनयापनका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो। समयमै नियन्त्रण नगरे समाजमा जटिल स्थिति सिर्जना हुने र सुरक्षा निकाय एक्लैले समस्या समाधान गर्न नसक्ने उहाँको चेतावनी छ।

प्रतिक्रिया