सरकार र नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति

सरकार र नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति


काठमाडौं। नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच बुधबार साँझ नौ बुँदे सहमति भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहितको सरकारी वार्ता टोली र शिक्षक महासंघका प्रतिनिधिहरूबीच भएको वार्तापछि यो सहमति सम्पन्न भएको हो।

नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले सरकारले आफूहरूको नौ बुँदे माग सम्बोधन गर्न तयार भएको बताइन्। उनले भनिन्, “नौ बुँदे मागमा सहमति भएको छ। अब मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि शिक्षक आन्दोलन रोकिन्छ।”

यस्तै, शिक्षा मन्त्रालयका सचिव दीपक काफ्लेले शिक्षा ऐन छिट्टै पारित गर्ने र शिक्षकहरूले आन्दोलन रोक्ने सहमति भएको जानकारी दिए। उनले भने, “शिक्षकका सबै माग सम्बोधन हुने भएको छ। एउटा खाका बनाउन सरकारको निर्णय आवश्यक छ। त्यसका लागि मन्त्रिपरिषद् बैठक बस्दैछ। नेपाल सरकारको निर्णय आएपछि सहमति कार्यान्वयन हुनेछ।”

यो सहमतिसँगै लामो समयदेखि जारी शिक्षक आन्दोलन समाप्त हुने अपेक्षा गरिएको छ। मन्त्रिपरिषद्को आगामी बैठकले सहमति अनुमोदन गरेपछि औपचारिक रूपमा आन्दोलन स्थगित हुने शिक्षक महासंघले जनाएको छ।