विवादले अल्झिएका भ्रातृसंस्थालाई कांग्रेसले भंग गर्ने

विवादले अल्झिएका भ्रातृसंस्थालाई कांग्रेसले भंग गर्ने


काठमाडौ । नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेका चार भ्रातृसंस्थालाई भंग गर्ने भएको छ। पटक–पटक समय दिँदा पनि महाधिवेशन गर्न नसकेका नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ र नेपाल दलित संघलाई आगामी केन्द्रीय कार्यसमिति वा कार्यसम्पादन समिति बैठकबाट भंग गरिने महामन्त्री गगन थापाले बताए।

चैत मसान्तमा सात भ्रातृसंस्थाको तदर्थ समितिको म्याद सकिएको थियो। वैशाख पहिलो साता बसेको पदाधिकारी बैठकले महाधिवेशन गर्न सक्ने आधारसहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो। नेपाल किसान महासंघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाल थारू संघले महाधिवेशनको मिति र आधारसहित प्रतिवेदन बुझाएकाले यिनलाई समय थप गरिने भएको छ। तर, मुख्य चार भ्रातृसंस्थामा तदर्थ समिति र निर्देशन समितिबीच विवादले महाधिवेशन प्रक्रिया अघि बढ्न सकेन।

नेविसंघमा संयोजक दुजाङ शेर्पाले एकलौटी गरेको भन्दै निर्देशन समितिका संयोजक किशोरसिंह राठोर र अन्य सदस्य असन्तुष्ट छन्। तरुण दलमा सदस्यता वितरण शुरू भए पनि महाधिवेशनको स्पष्ट आधार देखिएन। महिला संघमा संयोजक उषा राउत मिश्रविरुद्ध २० केन्द्रीय सदस्यले राजीनामा दिए। दलित संघमा पनि संयोजक लोकबहादुर विश्वकर्मा र निर्देशन समितिका संयोजक जीवन परियारबीच गुटगत विवाद छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले चैत मसान्तभित्र महाधिवेशन गर्न निर्देशन दिए पनि विवादले प्रक्रिया अघि बढेन। वैशाख १७ मा बोलाइएको केन्द्रीय समिति बैठक संसद् अधिवेशनका कारण स्थगित भएको छ। अब छिट्टै बस्ने बैठकले यी भ्रातृसंस्थाको भविष्यबारे निर्णय गर्नेछ।