कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले गरे प्रधानमन्त्री ओलीको भुमिका माथी प्रश्न

कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले गरे प्रधानमन्त्री ओलीको भुमिका माथी प्रश्न


काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइलाई लिएर नेपाली कांग्रेसका सांसदहरूले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकाप्रति गम्भीर अविश्वास व्यक्त गरेका छन्। कांग्रेस संसदीय दलको शनिबारको बैठकमा सांसदहरूले नियुक्ति प्रक्रियामा भएको ढिलाइ र प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका हुन्।

वैशाख ३ गते प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने समझदारी बनेको थियो। सोही आधारमा भट्टले राजीनामा दिए, तर डिपुटी गभर्नर निलम ढुंगानाले राजीनामा स्वीकृत नगरेपछि कांग्रेसले अर्थविद् विश्व पौडेलको नाम प्रस्ताव गरेको थियो। पौडेलले सिफारिस समितिबाट राजीनामा दिएपछि मन्त्रिपरिषद्ले बुधबार पोषराज पाण्डेलाई समितिमा नियुक्त गर्‍यो। तर, अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको सिफारिस समितिको बैठक अझै बस्न सकेको छैन।

कानुनअनुसार समितिले कम्तीमा एक डिपुटी गभर्नरसहित तीन जनाको नाम सिफारिस गर्नुपर्छ, जसमध्येबाट मन्त्रिपरिषद्ले एकलाई गभर्नर नियुक्त गर्छ। कांग्रेस सांसदहरूले राजीनामा दिन लगाउने, स्वीकृत नगर्ने, नयाँ नाम प्रस्ताव गर्दासमेत ढिलाइ गर्ने कार्यले गम्भीर आशंका उत्पन्न भएको बताए। उनीहरूले यो प्रकरणलाई अनावश्यक रूपमा जटिल बनाइएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

यो ढिलाइले वित्तीय क्षेत्रमा अनिश्चितता बढाएको विश्लेषकहरूको भनाइ छ। गभर्नर नियुक्ति प्रक्रिया चाँडो टुंग्याउन कांग्रेसले सरकारलाई दबाब बढाउने रणनीति बनाएको छ। समितिको बैठक कहिले बस्छ भन्ने अझै अनिश्चित छ, जसले नियुक्ति प्रक्रियालाई थप जटिल बनाइरहेको छ।