काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट नेताहरूले वर्तमान सरकार अपेक्षाकृत बलियो र प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेका छन्। आइतबार कुलेश्वरस्थित पूर्वउपसभापति गोपालमान श्रेष्ठको निवासमा बसेको देउवा टिमका दोस्रो तहका प्रभावशाली नेताहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
दिउँसो २ बजेदेखि साढे ४ बजेसम्म चलेको बैठकमा सरकारको प्रभावकारिता, पार्टीको आगामी महाधिवेशन, र व्यवस्थामाथि भ्रम चिर्ने विषयमा विस्तृत छलफल भएको नेता श्रेष्ठले जानकारी दिए। “दुईतिहाइ बहुमतको सरकार भएर पनि यो सरकार अपेक्षित रूपमा बलियो र प्रभावकारी देखिएन,” उनले बाह्रखरीसँग भने, “यसको प्रभावकारिता बढाउन कांग्रेसले आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने निष्कर्ष भएको छ।”
बैठकमा व्यवस्थामाथि भ्रम छर्ने कार्य भइरहेको भन्दै त्यसलाई चिर्न बृहत् अन्तरक्रिया गर्ने निर्णय भएको छ। “पहिलो चरणमा वाग्मती प्रदेशस्तरीय ‘लोकतान्त्रिक गणतन्त्र र आजको आवश्यकता’ विषयमा अन्तरक्रिया आयोजना गर्नेछौँ,” श्रेष्ठले भने, “यसलाई क्रमशः सबै प्रदेशमा विस्तार गरी जनतामा रहेको भ्रम हटाउने प्रयास गर्नेछौँ।”
पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न पनि विशेष जोड दिइएको छ। सदस्यता वितरण र नवीकरणको काम सुस्त भएको भन्दै त्यसलाई तीव्रता दिने निर्णय भएको उनले बताए। “महामन्त्रीहरूको नेतृत्वमा सदस्यता अभियान चलिरहेको छ, तर प्रगति सुस्त छ। चैत मसान्तको समयसीमा थप्दा पनि धेरै जिल्लाले विवरण बुझाएका छैनन्,” उनले भने, “यसलाई प्रभावकारी बनाएर महाधिवेशनमा सदस्यताका लागि मुद्दा लड्ने अवस्था अन्त्य गर्नुपर्छ।”
उनका अनुसार, समय तोकेर सबै जिल्लाको नवीकरण सम्पन्न गरी नयाँ सदस्यता वितरणका लागि आह्वान गर्ने योजना छ।
बैठकमा डा. शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महत सहभागी थिए। आगामी बैठकलाई विस्तारित गर्दै उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरू, र देउवानिकट पूर्वसहमहामन्त्रीहरूलाई समेट्ने योजना रहेको छ।
“अर्को बैठक प्रकाशमान सिंहजीले आयोजना गर्नुहुनेछ। उहाँले सबै आवश्यक नेताहरूलाई समेटेर बैठक गर्नुहुनेछ,” श्रेष्ठले भने, “सभापति देउवाको सहयोगमा सबैलाई समेटेर अघि बढ्ने समझदारी भएको छ।”
आगामी महाधिवेशनमा सभापतिका आकांक्षी नेताहरूले यस्ता बैठकलाई तीव्रता दिएका छन्। विभिन्न नेताका निवासमा पालैपालो बैठक बस्ने क्रम जारी रहेको छ।

प्रतिक्रिया