एनपी साउदको भनाइ : प्रेस युनियनको अन्तर्राष्ट्रिय पहिचान राष्ट्रकै गौरव

एनपी साउदको भनाइ : प्रेस युनियनको अन्तर्राष्ट्रिय पहिचान राष्ट्रकै गौरव


काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले नेपाल प्रेस युनियनले अन्तर्राष्ट्रिय  पहिचान स्थापित गर्नु राष्ट्रकै गाैरवको विषय रहेको बताउनुभएको छ । प्रेस युनियनको स्थापना दिवसको सन्दर्भमा युनियनको युरोप शाखाले गरेको विशेष कार्यक्रममा सम्बोधन गर्दै नेता साउदले अन्तर्राष्ट्रिय मिडिया सम्मेलन गरेर प्रेस युनियनले लाेकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकटको क्षेत्रमा विश्वको धयान खिचेको बताउनुभयाे । प्रेस स्वतन्त्रता सुदृढ हुँदामात्रै लोकतन्त्र बलियो हुने कांग्रेसको धारणा रहेको भन्दै उहाँले लाेकतन्त्र संस्थागत गर्न नेपाली प्रेस जगतको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै युनियनका अध्यक्ष शिव लम्सालले नेपाली सञ्चारक्षेत्रको अग्रणी संस्थाका रुपमा रहेको युनियनले साझा मुद्दामा अन्तर्राष्ट्रिय मिडिया जगतसँग सहकार्य गर्दै आएको बताउनुभयो । युनियनले अन्तर्राष्ट्रिय पत्रकार महासंघसँगको सहकार्यमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि विभिन्न कार्यक्रमहरु गरेको उल्लेख गर्नुभयो । युनियनले स्थापनाकालदेखि नै श्रमजीवी पत्रकारको हितमा आफूलाई क्रियाशील राखेको भन्दै अध्यक्ष लम्सालले लाेकतन्त्र र प्रेस स्वतन्त्रताका सवालमा कसैसँग सम्झाैता नगरिने बताउनुभयो ।