त्रिभुवन विमानस्थलमा मानव तस्करीको जालो, अनुसन्धानमा तीव्रता

त्रिभुवन विमानस्थलमा मानव तस्करीको जालो, अनुसन्धानमा तीव्रता


काठमाडौँ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको आवरणमा मानव तस्करीको गम्भीर अपराध भइरहेको तथ्य बाहिर आएको छ। अध्यागमन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, एयरलाइन्स कर्मचारी र ट्राभल एजेन्सीहरूको मिलेमतोमा यो संगठित अपराध सञ्चालित छ। दुई वर्षअघि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको पालामा नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १,६४१ राहदानीमाथि गरेको अनुसन्धानले यो कुरा पुष्टि गरेको थियो। स्रोतका अनुसार अहिले पनि गृहमन्त्रीको सचिवालयका कर्मचारीहरूको सेटिङमा तस्करी निरन्तर छ।

हालै, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई मानव तस्करीको आरोपमा गृह मन्त्रालयमा तानिएको छ। उनीसँगै खगेन्द्र सुवेदी, कविता पौडेल र ग्रिन होलिडेज ट्राभलका बालकृष्ण खड्कामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। अख्तियार स्रोतका अनुसार, गृह मन्त्रालयका उच्च अधिकारी र गृहमन्त्रीको सचिवालयका कर्मचारीको पनि संलग्नता रहेको दाबी गरिएको छ।

दुई वर्षअघिको अनुसन्धानले तत्कालीन अध्यागमन अधिकृत नरवीर खड्कासहित विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विकास डंगोल, पीताम्बर रिमाल, सुजन फागो र अन्य व्यक्तिहरूको संलग्नता देखाएको थियो। प्रहरीले उनीहरूमाथि लिखत किर्ते र संगठित अपराधको मुद्दा दायर गरेको थियो। तर, कारबाही कमजोर हुँदा यो अपराधले निरन्तरता पाएको स्रोत बताउँछ। अनुसन्धानका क्रममा डिएसपी गोविन्द पन्थीको सरुवा भएको र मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीलाई विमानस्थलबाट हटाइएको घटनाले अनुसन्धानमा अवरोध भएको थियो।

नेपाली महिलालाई ओमान हुँदै संयुक्त अरब इमिरेट्स, कुवेत, साउदी अरेबिया, कतार, सिरिया, इराक, बहराइनजस्ता मुलुकमा गैरकानुनी रूपमा पठाइन्छ। स्रोतका अनुसार, तस्करीबाट प्राप्त रकमको हिस्सा अध्यागमन कर्मचारीले गृह मन्त्रालय र सचिवालयसम्म बाँड्ने गरेका छन्। सरकारले २०७३ देखि खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाए पनि, नक्कली कागजात बनाएर तस्करी भइरहेको छ।

सरकारले २०८० माघ १० देखि लागु गरेको ६-बुँदे मापदण्डमा दुईतर्फी टिकट, ५०० डलर, र अन्य कागजात अनिवार्य गरिएको छ। तर, एयरलाइन्स कर्मचारीको मिलेमतोमा यी मापदण्ड उल्लंघन हुने गरेको छ। स्रोतका अनुसार, दुवईमा मात्र दैनिक २५० महिलाको तस्करी हुन्छ। २०७३ यता खाडी मुलुकमा तीन लाख नेपाली महिला अवैध रूपमा पुगेको अनुमान छ।