कास्की — नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि सर्वसम्मत गराउने प्रयास असफल भएपछि अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरीबीच कडा प्रतिस्पर्धा हुने भएको छ। पोखरामा जारी महाधिवेशनमा थेबेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थन छ भने पुरीलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षको साथ छ।
ओलीले थेबेलाई दोहोर्याउने र अन्य आकांक्षीलाई पार्टीको केन्द्रीय कमिटी वा भूगोलको जिम्मेवारी दिने चाहना राखेका थिए। शुक्रबारको उद्घाटन सत्रमा उनले झगडा नगरी सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए। तर, पुरीले अध्यक्षमा दाबी नछोडेपछि निर्वाचन अनिवार्य भएको छ। नेताहरू भानुभक्त ढकाल, राजीव पहारी, महेश बस्नेतलगायतले दुई दिनसम्म सर्वसम्मतिका लागि प्रयास गरे पनि पुरी अडिग रहे।
थेबेले पार्टी नेतृत्वको निर्देशनमा उम्मेदवारी दिएको बताए। “आम युवालाई राजनीतिक चेतनासहित अघि बढाउन नेतृत्वले मलाई अघि सारेको हो,” उनले भने। पुरीले भने स्वच्छ प्रतिस्पर्धाको पक्षमा आफू मैदानमा उभिएको दाबी गरे। “पार्टी अध्यक्षले नै स्वच्छ प्रतिस्पर्धा गर्न भनेकाले म उभिएको हुँ,” उनले भने।
दुवै पक्षले प्यानल तयार गरेका छन्। थेबे प्यानलबाट विनय शाह, महाराज गुरुङ, महेश चौलागाईं, उपेन्द्र शाही र पुरी प्यानलबाट प्रकाश गौतम, पर्वत भण्डारी, कुवेर अधिकारी, खेमराज शर्मा उम्मेदवार छन्। १,७६४ प्रतिनिधिले १६३ पदका लागि सोमबार पोखरा सभागृहमा मतदान गर्नेछन्।

प्रतिक्रिया