डा. शेखर कोइराला: किराँत समुदायको पहिचान र हलेसीको सम्मानका लागि सधैं साथ

डा. शेखर कोइराला: किराँत समुदायको पहिचान र हलेसीको सम्मानका लागि सधैं साथ


खोटाङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा सधैं किराँत समुदायको साथमा रहेको बताएका छन्। खोटाङको हलेसीमा तुवाचुङ जायजुम संरक्षण समितिले किराँत समुदायको चाड साकेला उभौलीको अवसरमा आयोजित “तुवाचुङ डे” को उद्घाटन गर्दै कोइरालाले यस्तो प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा कोइरालाले नेपाली कांग्रेसले सधैं द्वन्द्व समाधान र पहिचानको सम्मानमा विश्वास गर्ने बताए। उनले संविधानसभाबाट संविधान निर्माणको समयमा आफूले पहिचान र समावेशी समानुपातिक प्रतिनिधित्वको मुद्दा जोडदार रूपमा उठाएको स्मरण गरे। “पहिचान र समावेशीताको सवालमा हामी सधैं अडिग छौं,” उनले भने।

कोइरालाले हलेसी महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। “हलेसीको सांस्कृतिक र धार्मिक महत्वलाई विश्वमाझ पुर्‍याउन म प्रतिबद्ध छु,” उनले थपे।

यो कार्यक्रमले किराँत समुदायको सांस्कृतिक पहिचान र हलेसीको ऐतिहासिक महत्वलाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलेको स्थानीय आयोजकहरूले बताए। कोइरालाको यो भनाइले किराँत समुदायमा उत्साह थपिएको छ भने पहिचानको मुद्दा थप सशक्त रूपमा उठ्ने अपेक्षा गरिएको छ।