बेंगलुरुले पंजावलाई दियो १९१ रनको चुनौती

बेंगलुरुले पंजावलाई दियो १९१ रनको चुनौती


अहमदावाद। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनल खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले पंजाव किंग्सविरुद्ध १ सय ९१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। मंगलबार नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा पंजावले टस जितेर पहिले बलिङ रोजेपछि बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनायो।

बेंगलुरुको ब्याटिङमा ओपनर विराट कोहलीले सर्वाधिक ४३ रन बनाए। उनले ३५ बलमा तीन चौका प्रहार गरे। अर्का ओपनर फिल साल्टले ९ बलमा १६ रन जोड्दै टिमलाई राम्रो सुरुवात दिए। मध्यक्रममा मयन्क अग्रवालले १८ बलमा २४ रन, कप्तान रजत पाटिदारले १६ बलमा २६ रन, लियान लिभिङस्टोनले १५ बलमा २५ रन र जितेन शर्माले १० बलमा २४ रन बनाए। रोमारिओ सेपार्डले ९ बलमा १७ रन जोड्दै स्कोरलाई माथि पुर्‍याए। यद्यपि, मध्यक्रमका ब्याटरहरूले ठूलो स्कोर बनाउन नसक्दा बेंगलुरुले विशाल योगफल बनाउन सकेन।

पंजावका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। केली जेमिसन र अर्सदीप सिंहले समान तीन-तीन विकेट लिए। जेमिसनले ४८ रन र सिंहले ४० रन खर्चेर बेंगलुरुको ब्याटिङ लाइनअपलाई ध्वस्त बनाए।

यो फाइनल खेलमा पंजाव किंग्सले अब १ सय ९१ रनको लक्ष्य पछ्याउनेछ। बेंगलुरुको बलिङ र पंजावको ब्याटिङबीचको रोमाञ्चक भिडन्तले दर्शकहरूलाई उत्साहित बनाएको छ। यो खेलले आईपीएल २०२५ को च्याम्पियन टोलीको टुंगो लगाउनेछ।