सिन्धुली । मनसुन सुरु भएसँगै बीपी राजमार्गमा यात्रा गर्ने यात्रु र चालकहरूको चिन्ता चुलिएको छ। बाढीपहिरोले सडक अवरुद्ध हुने र यात्रामै जोखिम बढ्ने डरले सताएको छ। गत असोजमा बाढीले चौकीडाँडा–बर्खेखोला खण्डको १२ किमि सडक भत्काएपछि अस्थायी मर्मतले जसोतसो यातायात चलेको छ। तर, पक्की सडक पुनर्निर्माणमा सरकारको ढिलासुस्तीले यो बर्खायाममा पनि यात्रुहरू डरैडरमा यात्रा गर्न बाध्य छन्।
काभ्रेको चौकीडाँडा खण्ड सबैभन्दा जोखिमपूर्ण छ। बाढीले सडक भत्काएपछि रोशीखोला किनारमा अस्थायी बाटो बनाइएको छ, तर यो खण्डमा पूर्वबाट काठमाडौं आउने सवारीहरू उकालो चढ्दा चिप्लिन्छन्। मंगलबार मात्र काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको भारतीय पिकअप भ्यान पल्टिँदा चालकलाई सामान्य चोट लाग्यो। भकुन्डेबेसी प्रहरी चौकीका असई रोहित हुमागाईं भन्छन्, “चार महिनामा चार सवारी पल्टिसके, तर सडकको ग्रेड सुधारिएको छैन।”
सडक डिभिजन भक्तपुरका इन्जिनियर दुर्गाप्रसादले अस्थायी सडक सामान्य वर्षा थेग्ने बताए पनि ठूलो बाढीले धान्न नसक्ने स्वीकार गर्छन्। बर्खायाममा सडक अवरुद्ध भए तत्काल सञ्चालन गर्न ४५ उपकरण तयारी अवस्थामा छन्। तर, गत असोजको जस्तो बाढी आए अस्थायी संरचनाले काम नगर्ने उनको भनाइ छ।
बीपी राजमार्ग जापानको सहयोगमा बनेकाले पुनर्निर्माणमा पनि जाइकाको सहयोग अपेक्षित थियो। तर, जाइकाले सीमित सहयोगको संकेत गरेपछि सरकार आफैंले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनायो। गत फागुनमा सिन्धुली खण्डका लागि १ अर्ब र काभ्रेका लागि ७.५ अर्ब बजेट विनियोजन भएर ठेक्का प्रक्रिया अघि बढेको छ। डालाबेसी–चारसय बेसी (८.५ किमि) खण्डको ठेक्का १.४२ अर्बमा अन्तिम चरणमा छ, तर यो बर्खायाममा पुनर्निर्माण सम्भव छैन।
सिन्धुली–काठमाडौं माइक्रोबस चालक दीपेन्द्र कार्की भन्छन्, “पहिले ४ घण्टामा काठमाडौं पुग्थें, अहिले ६ घण्टाभन्दा बढी लाग्छ। पानी पर्दा हिलाम्य बाटोमा गाडी चलाउनै गाह्रो छ।” उनले एकपटक १७ घण्टा जाममा फसेको अनुभव सुनाए। सडक डिभिजन सिन्धुलीका प्रमुख पारसमणि हमालले बर्खेखोला–नेपालथोक खण्डमा माटो, गिट्टी र ढुंगा राखेर सडक सुधारिएको दाबी गर्छन्, तर ठूलो बाढीले धान्न नसक्ने बताउँछन्।
बाढीपहिरोले राजमार्ग आसपासका व्यवसाय पनि मारमा छन्। मुल्कोटका दर्जनौं होटल–रेस्टुरेन्ट बाढीले क्षति पुगेका छन्। क्वालिटी बिच रिसोर्टका सञ्चालक राजेश श्रेष्ठ भन्छन्, “रिसोर्ट जसोतसो पुनर्सञ्चालन गर्यौं, तर खराब बाटोले ग्राहक घटे।” सडक डिभिजनका अनुसार पहिले दैनिक ७,००० सवारी गुड्ने राजमार्गमा अहिले ४,००० मा झरेको छ। सरकारको ढिलासुस्तीले यो बर्खायाममा पनि बीपी राजमार्गको यात्रा जोखिमपूर्ण रहने निश्चित छ।

प्रतिक्रिया