काठमाडौ । हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक मार्ग कान्ति लोकपथ आइतबार (जेठ २५, २०८२) देखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। वाग्मती नदीको मकवानपुरतर्फको पुलमा बेलिब्रिज जडान कार्य शनिबार राति १२ बजेसम्म सम्पन्न हुने र आइतबार बिहानदेखि सडक खुल्ने कान्ति लोकपथ सडक आयोजनाका प्रमुख रत्नलक्ष्मी बज्राचार्यले बताएकी छन्।
“शनिबार राति १२ बजेसम्म काम गरेर भए पनि आइतबार बिहानदेखि कान्ति लोकपथ सञ्चालनमा ल्याउनेछौँ,” बज्राचार्यले भनिन्। जेठ २१ देखि २४ गतेसम्म सडक बन्द गरेर २४ घण्टा खटिएका करिब ५० जना कामदार र प्राविधिकले २४.४ मिटर लामो र ५ मिटर चौडा बेलिब्रिज जडान गरेका छन्। बेलिब्रिजको संरक्षणका लागि ग्याविन लगाउने कार्य पनि भइरहेको आयोजनाका इन्जिनियर साजन न्यौपानेले जानकारी दिए।
गत असोज ११ र १२ गते वाग्मती नदीमा आएको बाढीले मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको वाग्मती गाउँपालिका–२ बगुवास्थित पुलको मकवानपुरतर्फको एक स्पान बगाएको थियो। त्यसपछि माटो र बालुवाको अस्थायी पहुँच मार्ग बनाएर सडक सञ्चालन गरिएको थियो, तर वर्षायाममा पटक–पटक बाढीले मार्ग बगाएपछि बेलिब्रिज जडान गरिएको हो। बेलिब्रिज जडान र संरक्षण कार्यका लागि निर्माण कम्पनीलाई करिब साढे एक करोडको ठेक्का दिइएको आयोजनाले जनाएको छ।
जेठ २१ देखि २४ गतेसम्म कान्ति लोकपथ बन्द हुँदा हेटौंडा–काठमाडौं र काठमाडौं–हेटौंडा आवतजावत गर्ने सवारीसाधनले कुलेखानी–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गरेका थिए।

प्रतिक्रिया