काठमाडौ ।कांग्रेस–एमाले गठबन्धन सरकार बनेको ११ महिनापछि पहिलोपटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच द्विपक्षीय भेटवार्ता भएको छ। शनिबार प्रचण्ड देउवालाई भेट्न उनको बुढानीलकण्ठस्थित निवास पुगेका थिए। यसअघि दुई नेताबीच फोन संवाद र प्रधानमन्त्री केपी शर्मा ओलीसहितको त्रिपक्षीय भेट भए पनि द्विपक्षीय भेट पहिलोपटक भएको हो।
भेटमा भिजिट भिसाको आवरणमा भएको मानव तस्करी र ठगी प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै माओवादीसहित विपक्षी दलले दुई सातादेखि अवरुद्ध गरेको संसद् खुलाउने विषयमा छलफल भएको थियो। प्रचण्डले २०६४ यताका सबै गृहमन्त्रीको कार्यकाल छानबिन गर्न समिति गठनको प्रस्ताव राखेका थिए। जवाफमा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको अवस्थामा नयाँ समिति बनाउन नसकिने बताए।
“विपक्षी दलहरूको म्यान्डेटअनुसार छलफल गर्न आएको छु। छानबिन समितिको सुनिश्चितता भए सदन सञ्चालन हुन्छ,” प्रचण्डको भनाइ उद्धृत गर्दै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने। तर, देउवाले “अख्तियारले छानबिन गरिरहेको विषयमा अर्को कमिटी बनाउन सम्भव छैन, संसद् खुलाउन वातावरण बनाउनुपर्छ” भन्दै विपक्षीलाई सल्लाह गर्न सुझाए।
विपक्षी दलहरूले जेठ १३ देखि गृहमन्त्रीको राजीनामाको माग राख्दै सदन अवरुद्ध गरेका छन्। संविधानअनुसार जेठ १५ मा बजेट ल्याउन एक दिन सदन चले पनि हाल बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन। प्रचण्डलाई विपक्षी दलले सदन खुलाउने जिम्मा दिएका छन्, र उनले थप सल्लाहपछि छलफल गर्ने बताएका छन्।
कांग्रेसका उपसभापति खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री लेखक, प्रमुख सचेतक श्याम घिमिरेलगायत नेताहरू विपक्षीसँग नियमित संवादमा छन्। यता, सत्तारूढ एमालेले भने छानबिन समिति आवश्यक नभएको अडान राख्दै प्रधानमन्त्री ओलीले सदन पेलेर चलाउने अभिव्यक्ति दिएका छन्। माओवादी प्रमुख सचेतक हितराज पाण्डेले कुनै प्रगति नभएको र अडान यथावत रहेको बताए। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि सत्तापक्षले चासो नदिएको आरोप लगाए।
दलहरूबीच सहमति नहुँदा आइतबार दिउँसो १ बजेको प्रतिनिधिसभा बैठक अनिश्चित बनेको छ।

प्रतिक्रिया