विराटनग — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का कार्यकर्ताहरूसँग भेटघाट गर्न पार्टीको अनुमति लिनुपर्ने आवश्यकता नरहेको स्पष्ट पारेकी छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो राजनीतिक सक्रियता र कार्यकर्तासँगको सम्बन्ध स्वाभाविक भएको बताइन्।
“मैले कार्यकर्तासँग भेट्न एमालेको इजाजत लिनुपर्छ र? मैले संगठित सदस्यता नलिएको बेलादेखि नै पार्टीमा काम गर्दै आएको हुँ। चिनजान पनि ठूलै छ। पार्टीका नेताहरूले कार्यक्रममै बोलाउनु स्वाभाविक हो,” उनले भनिन्। राष्ट्रपति हुनुअघि र संगठित सदस्यता नलिँदैदेखि पार्टीमा सक्रिय रहेको उल्लेख गर्दै उनले जनताको विचार र आकांक्षा बुझ्नु आफ्नो कर्तव्य भएको बताइन्। “नयाँ पुस्ताका लागि देशका लागि बाँचुन्जेल संघर्ष गर्नुपर्छ,” उनले थपिन्।
एमालेभित्र गुटबन्दी गरेको आरोपबारे उनले कुनै गुट नबनाएको दाबी गरिन्। “म कहिल्यै गुट बनाउने मान्छे होइन। अध्यक्ष ओलीजीले मलाई ताकेर भनेको जस्तो मलाई लाग्दैन। उहाँले त्यस्तो भन्नुभएको पनि होइन होला। तपाईंहरूले त्यसो अर्थ लगाउनुभयो कि?” उनले पत्रकारहरूलाई प्रश्न गरिन्। हालै एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई गुटबन्दी नगर्न चेतावनी दिएका थिए।
कोशी प्रदेशको मोरङ र सुनसरीमा चार दिन बिताएर कार्यकर्ता भेटघाट र कार्यक्रममा सहभागी भएकी भण्डारी मंगलबार काठमाडौं फर्किएकी छन्। उनको यो भ्रमण र सक्रियताले एमालेको आन्तरिक राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ।

प्रतिक्रिया