४४ मिटरले घट्यो कुलेखानी जलाशयको जलसतह

४४ मिटरले घट्यो कुलेखानी जलाशयको जलसतह


काठमाडौं — कुलेखानी जलाशयको जलसतह सुक्खायाम र बढ्दो विद्युत् मागका कारण ४३.५८ मिटरले घटेको छ। गत वर्ष असोज १० देखि १२ सम्मको अविरल वर्षाले जलाशय पूर्ण रूपमा १,५३० मिटरमा भरिएको थियो। तर, हाल सुक्खायाममा विद्युत् उत्पादन बढाउँदा जलसतह १,४८६.४२ मिटरमा झरेको कुलेखानी जलविद्युत् आयोजनाका प्रमुख तारादत्त भट्टले बताए।

“सुक्खायाममा विद्युत् माग उच्च हुन्छ, त्यसैले आवश्यकताअनुसार केन्द्र सञ्चालन गरिरहेका छौं,” भट्टले भने। मनसुन सुरु भएसँगै पानी पर्न थालेपछि जलाशय पुनः भरिन थाल्ने उनको भनाइ छ। गत वर्ष जलाशय ‘ओभरफ्लो’ हुँदा बाँधको सुरक्षाका लागि दुई ढोका खोलिएको थियो, जसले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो।

कुलेखानी जलविद्युत् आयोजना मुख्य रूपमा सुक्खा र गर्मीयाममा विद्युत् आपूर्ति र माग सन्तुलनमा राख्न तथा भोल्टेज नियन्त्रणका लागि प्रयोग हुन्छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार पूर्ण क्षमतामा सञ्चालन हुँदा कुलेखानी प्रथमबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट बिजुली उत्पादन हुन्छ।

जलसतह घट्दा विद्युत् उत्पादनमा केही चुनौती देखिए पनि मनसुनले अवस्था सुधार्ने अपेक्षा गरिएको छ।