केदारनाथमा हेलिकप्टर दुर्घटना : पाँच जनाको ज्यान गयो

केदारनाथमा हेलिकप्टर दुर्घटना : पाँच जनाको ज्यान गयो


काठमाडौँ । भारतको उत्तराखण्ड राज्यस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल केदारनाथ धाममा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै आर्यन कम्पनीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। देहरादूनबाट केदारनाथ जाँदै गरेको उक्त हेलिकप्टरमा चालकसहित पाँच जना सवार थिए।

दुर्घटनामा हेलिकप्टरमा सवार सबैको घटनास्थलमै ज्यान गएको बताइएको छ। मृत्यु हुनेमा एक बालक समेत रहेको पुष्टि भएको छ।

स्थानीय प्रशासनका अनुसार लगातारको खराब मौसम र कमजोर दृश्यता नै दुर्घटनाको कारण बनेको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलमा उद्धार टोली र प्रहरी परिचालन गरिएको छ भने विस्तृत विवरण संकलन भइरहेको छ।

केदारनाथ धाममा वर्षेनि लाखौं भक्तजन दर्शनका लागि जाने गरेका छन्। धार्मिक सिजनमा दैनिक दर्जनौं हेलिकप्टरले यात्रु ओसार्ने गरेका छन्। पछिल्लो समय खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाको जोखिम उच्च रहेको सुरक्षा निकायको भनाइ छ।

अधिकृत निकायले घटनाको अनुसन्धान थालेको छ।