केदारनाथमा हेलिकोप्टर दुर्घटना : चालकसहित ७ जनाको मृत्यु

केदारनाथमा हेलिकोप्टर दुर्घटना : चालकसहित ७ जनाको मृत्यु


काठमाडौँ । भारतको उत्तराखण्ड राज्यस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल केदारनाथ धाम जाने क्रममा आज बिहान हेलिकोप्टर दुर्घटना हुँदा चालकसहित सातै जनाको ज्यान गएको छ।

आर्यन कम्पनीको हेलिकोप्टर देहरादूनबाट केदारनाथ जाँदै गर्दा गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकैको घना जंगलमा दुर्घटनाग्रस्त भएको हो। जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले दुर्घटनाको पुष्टि गरेका छन्। उनका अनुसार खराब मौसमकै कारण हेलिकोप्टरको नियन्त्रण गुमेर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

गौरीकुण्ड माथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले पहिलोपटक दुर्घटनाको जानकारी दिएका थिए। दुर्घटनापछि हेलिकोप्टरमा आगलागी भएकोले शवहरू नराम्ररी जलेका छन्। मृतकमध्ये एक बालिका पनि रहेको बताइएको छ।

दुर्घटनाको खबर पाएसँगै उद्धारकर्ता टोली र प्रहरी घटनास्थल पुगेका छन् र मृतकहरूको पहिचानको काम भइरहेको छ।

यसअघि पनि केदारनाथ क्षेत्रमा हेलिकोप्टर उडानमा समस्या देखिएका थिए। गत जुन ७ मा केदारघाटीको बडासु हेलिप्याडबाट उडेको हेलिकोप्टरमा प्राविधिक समस्या देखिएपछि पाइलटले रुद्रप्रयाग–गौरीकुण्ड राजमार्गमा आपतकालीन अवतरण गराएका थिए। त्यस घटनामा पाइलट घाइते भएका थिए भने हेलिकोप्टरमा सवार पाँचै जना यात्रु सुरक्षित थिए। केदारनाथमा प्रत्येक वर्ष लाखौं भक्तजन आउने भएकाले तीर्थयात्रीलाई सहज ओसारपसार गर्न दर्जनौं हेलिकोप्टरले नियमित सेवा दिँदै आएका छन्। तर पछिल्लो समयमा लगातारको खराब मौसमले हेलिकोप्टर उडान जोखिमपूर्ण बन्दै गएको स्थानीय प्रशासनले जनाएको छ।

अधिकृत निकायहरूले घटनाको विस्तृत छानबिन सुरु गरेका छन्।