पोखरा । मुग्लिनबाट पोखरा जोड्ने पृथ्वीराजमार्गको ९० किलोमिटरमध्ये पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) को सडक विस्तार कार्य सकिएको छ। सडक आयोजना निर्देशनालयका अनुसार मर्स्याङ्दी जलविद्युत् गृह छेउछाउको करीब सात किलोमिटर खण्डबाहेक अन्य सम्पूर्ण पूर्वी खण्डको ४१ दशमलव ४५ किलोमिटर सडक तोकिएकै समय, जेठ मसान्तमा निर्माण सम्पन्न भएको हो।
यो खण्डमा रहेका १८ वटा पुलमध्ये १७ वटा पुलको निर्माण कार्य सकिएको छ भने दमौलीको मादी खोलाको पुल मात्रै निर्माणाधीन अवस्थामा रहेको निर्देशनालय प्रमुख चुडाराज ढकालले जानकारी दिए। मादी पुलको निर्माण कार्य सन् २०२५ सेप्टेम्बरसम्म सक्ने गरी १ अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
पूर्वी खण्डको सडक निर्माण ६ अर्ब २१ करोड रुपैयाँको लागतमा सम्पन्न भएको हो। मुख्य सडकको सबै निर्माण सकिए पनि डुम्रे र दमौली बजार क्षेत्रमा पर्ने करिब २ सय मिटर सर्भिस लेन भने निर्माणाधीन अवस्थामा छ। वर्षा रोकिएलगत्तै एक साताभित्र यो सर्भिस लेनको काम पनि सकिने सूचना अधिकारी विष्णु पाण्डेले जानकारी दिए।
यो खण्डमा डुम्रे र दमौली बजार क्षेत्रमा ६ लेनको सडक र अन्य क्षेत्रमा ४ लेनको सडक निर्माण गरिएको छ।
मर्स्याङ्दी जलविद्युत् गृहबाट मुग्लिनतर्फ जाने बाँकी सात किलोमिटर सडक विस्तारका लागि भने अझै टेन्डर आह्वान गरिएको छैन। उक्त खण्डमा मर्स्याङ्दी नदी कटाएर गोर्खा हुँदै वैकल्पिक मार्ग निर्माण गर्ने योजना सडक विभागले बनाएको छ।
२०२६ सालमा रेखांकन गरिएको पृथ्वीराजमार्गमा सवारी चाप अत्यधिक बढेपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा साबिक दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्ने कार्य थालिएको हो। यसअघि तीन पटक म्याद थपिएर सम्पन्न भएको यो खण्डको सडकले स्थानीय तथा पर्यटकहरूलाई सहज यातायात सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया