म्याग्दी । म्याग्दी र बागलुङलाई ढोरपाटन हुँदै पूर्वी रुकुमसँग जोड्ने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको ट्याक (मार्ग) जोडिएको छ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको यो सडक काठमाडौं र पोखराबाट ढोरपाटन तथा पूर्वी रुकुम पुग्न छोटो दूरीको मार्गसमेत हो।
संघीय सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको पाँच करोड रुपैयाँ बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले म्याग्दीको धवलागिरि–२ मरेनीदेखि ढोरपाटनको जलजलासम्म करिब ९ किलोमिटर नयाँ सडक ट्याक खोलेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिनुभयो। यसअघि नै ढोरपाटनतर्फबाट १० किलोमिटर कच्ची सडक जोडिएको थियो।
बेनीदेखि विसं २०५५ मा सुरु भएको यो सडक हाल ६४ किलोमिटरमा मार्ग खुलिसकेको छ। अब पूर्वी रुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडक खुल्न बाँकी छ।
गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार यो सडक पूर्ण सञ्चालन भएपछि मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा करिब ७० किलोमिटर दूरी छोटिनेछ।
यसैबीच, बेनीदेखि तातोपानी–बाबियाचौर हुँदै तोलावाङसम्म करिब २० किलोमिटर सडक प्रदेश सरकारले कालोपत्र गरेको छ भने दरवाङदेखि ताकम मुना जोड्ने १७ किलोमिटर सडकको स्तरोन्नति कार्य समेत अघि बढाइएको प्रदेशसभा सदस्य रेशम जुग्जालीले जानकारी दिनुभयो।

प्रतिक्रिया