निर्देशन समितिलाई नेविसंघ महाधिवेशनको जिम्मा दिने तयारी

निर्देशन समितिलाई नेविसंघ महाधिवेशनको जिम्मा दिने तयारी


 काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशनबारे निर्णय लिन नेपाली कांग्रेसको सोमबार बसेको बैठक विनानिष्कर्ष टुंगिएको छ। सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको बैठकमा नेविसंघको तदर्थ समितिलाई महाधिवेशनको जिम्मा दिने वा नयाँ समिति बनाउने विषयमा छलफल भएको थियो। तर, महाधिवेशन निर्देशन समितिका संयोजक सहमहामन्त्री किशोरसिंह राठोर अनुपस्थित भएपछि कुनै निर्णय हुन सकेन।

बैठकमा सभापति देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेविसंघ निर्देशन समितिकी सदस्य प्रतिमा गौतम, र विद्यार्थी विभाग प्रमुख राजीव ढुंगाना सहभागी थिए। गौतमले राठोरको स्वास्थ्य ठीक नभएको कारण बैठकमा अनुपस्थित भएको जानकारी दिइन्। राठोरले देउवाको सचिवालयलाई स्वास्थ्य कारणले बैठकमा आउन नसक्ने बताएका थिए।

राठोर स्ववियु निर्वाचनमा नेविसंघको टिकट वितरण प्रक्रियाबाट असन्तुष्ट थिए। पार्टीले उनलाई सुरुमा टिकट निर्णयको जिम्मेवारी दिए पनि पछि विश्वप्रकाश शर्माको नेतृत्वमा नयाँ समिति बनाएपछि उनी असन्तुष्ट बनेका थिए। उनले टिकट वितरणमा आफ्नो भूमिका अस्पष्ट भएको भन्दै प्रश्न उठाएका थिए।

बैठकमा नेविसंघको तदर्थ समितिको सट्टा निर्देशन समितिले पार्टीको टिओआरअनुसार महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गर्ने प्रस्तावमाथि छलफल भएको थियो। गौतमका अनुसार, निर्देशन समितिलाई महाधिवेशनको जिम्मा दिने गरी अघि बढ्ने कुराकानी भएको छ।

कांग्रेसको केन्द्रीय समिति बैठक असार १५ गते बोलाइएको छ। त्यसअघि फेरि बैठक बसेर टिओआर र महाधिवेशन प्रक्रियाबारे निर्णय लिइने भएको छ। नेताहरूले अर्को बैठकमा सबै पदाधिकारी, निर्देशन समिति, र तदर्थ समितिसँगै बसेर छलफल गर्ने बताएका छन्।