गोरखा — उत्तरी गोरखाका स्थानीय बासिन्दा यार्सागुम्बा संकलन सकिएपछि अहिले वनलसुन संकलनमा जुटेका छन्। चुमनुब्री गाउँपालिका–७ छेकम्पारका वडाध्यक्ष टासी दोर्जे लामाका अनुसार गाउँका बासिन्दाहरू यार्सागुम्बा पाइने उच्च लेकबाट तल झरेर अब वनलसुन खोज्न थालेका हुन्।
उनका अनुसार किरा टिप्न गाउँलेहरू छेक्या, बाज्यो, फुच्युन र छोस्योङको लेकमा गएका थिए भने अहिले त्यही लेकको तलतिर किपु, रोल्मीखर्क, बाज्योखर्क र छेस्योङबेसी क्षेत्रमा वनलसुन खोज्दै छन्।
यार्सागुम्बा प्रशस्त, तर भाउ घट्दा निराश
वडाध्यक्ष लामाका अनुसार यस वर्ष यार्सागुम्बा प्रशस्तै फेला परेको छ तर भाउ गत वर्षको तुलनामा दुईतिहाइले घटेको छ। उनका अनुसार गत वर्ष ठूलोखाले यार्सागुम्बा प्रतिगोटा एक हजार रुपैयाँसम्ममा र सानो खाले पाँच सय रुपैयाँसम्ममा बिक्री भएको थियो। तर यसपटक ठूलोखाले चार सय र सानो खाले तीन सय रुपैयाँमा मात्र बिक्री भइरहेको छ।
उनले भने, “पोहोरसाल राम्रो भाउ पाएका थियौँ, योपालि किरा राम्रै भेटियो तर भाउ नपाएर गाउँलेहरू निराश छन्।” उनका अनुसार एक जनाले औसतमा दुई सयदेखि एक हजार वटासम्म किरा संकलन गर्छन्।
वनलसुन संकलनबाट केही राहतको आशा
यार्सागुम्बा संकलन सकिएपछि अहिले गाउँलेहरूले वनलसुन संकलनमा केही राहत खोजेका छन्। वनलसुन गाउँका खर्क, चरन र पाखापखेरा जताततै पाइन्छ। प्रतिकेजी ३८ हजार रुपैयाँसम्ममा किनबेच हुने भएकाले गाउँलेहरूले दुई–तीन किलोको दरले संकलन गर्ने गरेका छन्।
चुमनुब्री–१ सामागाउँ, साम्दो र छेकम्पार क्षेत्रका उचाइमा उच्च गुणस्तरीय यार्सागुम्बा पाइन्छ भने तलतिर ल्हो, प्रोक, सिर्दिबास र उहियाको लेकमा पनि थोरै मात्रामा पाइने स्थानीयहरूले बताएका छन्।
स्थानीयहरूका लागि यार्सागुम्बा र वनलसुन संकलन वर्षभरको घरखर्च धान्ने मुख्य श्रोत हो। तर बजारमा यार्सागुम्बाको भाउ घट्दा र जडीबुटी कारोबारमा सरकारी नीति कडा हुँदा उनीहरू थप समस्यामा परेका छन्।

प्रतिक्रिया