चन्द्रनिगाहपुर — चन्द्रपुर नगरपालिका–३ मा गैंडाटार–चन्द्रनिगाहपुर जोड्ने चाँदी नदी पुलको निर्माण कार्य ठेकेदार पप्पु/शिवशंकर जेभीले अलपत्र छाडेपछि स्थानीयवासी आक्रोशित बनेका छन्। २०७४ असार ३१ मा २५ करोड ३६ लाख २४ हजारमा ठेक्का सम्झौता भएको यो पुल २०७६ असार ३१ भित्र सम्पन्न हुनुपर्ने थियो। तर, ८ वर्ष बितिसक्दा पनि जम्मा ७५% काम मात्र भएको छ।
ठेकेदार दयाराम साहले आर्थिक संकटका कारण निर्माण कार्य अघि बढाउन नसकेको बताएका छन्। बर्खायाममा आवतजावतमा समस्या भएपछि स्थानीयले त्रिपाल राखेर आमरण अनशन गरेका छन् भने सडक डिभिजन कार्यालय घेराउ र ज्ञापनपत्र बुझाउँदै दबाब दिइरहेका छन्।
सडक डिभिजन प्रमुख अरुणकुमार लालकर्णले ठेक्का तोड्ने प्रक्रिया लामो र जटिल हुने भएकाले ठेकेदारलाई फकाएर काम गराउने प्रयास भइरहेको बताए। “ठेक्का तोडौँ, प्रक्रिया झन् लामो हुन्छ। यतिकै बसौँ, ठेकेदारले कामै गर्दैनन्,” उनले भने, “अब फकाएर भए पनि काम सम्पन्न गराउनुको विकल्प छैन।”
स्थानीयको निरन्तर दबाब र ठेकेदारको लापर्बाहीका बीच सडक डिभिजन कार्यालय तनावमा छ। चाँदी नदी पुलको निर्माण ढिलाइले स्थानीयको दैनिकी कष्टकर बनेको छ। यो समस्याको समाधानका लागि ठोस कदम चाल्नुपर्ने माग स्थानीयले उठाइरहेका छन्।

प्रतिक्रिया