काठमाडौँ– मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनका आरोपी ज्योतिबहादुर भण्डारीलाई नेपाल प्रहरीले कम्बोडियाबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ। इन्टरपोलको सहयोगमा जारी रेड नोटिसमार्फत उनलाई सिंगापुर एयरलाइन्सको उडानबाट बुधबार काठमाडौँ ल्याइएको प्रहरी स्रोतले जनाएको छ।
ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ। बर्दिया घर भएका भण्डारी कम्बोडियाको कानुन उल्लङ्घनको आरोपमा त्यहाँ पक्राउ परेका थिए। नेपाल प्रहरीको टोली उनलाई ल्याउन कम्बोडिया गएको थियो।
यसै प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङमाथि पनि सीआईबीले अनुसन्धान अघि बढाएको छ। प्रहरीले अन्य फरार अपराधीलाई पनि यस्तै कारबाहीको दायरामा ल्याउने जनाएको छ।

प्रतिक्रिया