इजरायली सोरोका अस्पतालमा इरानको आक्रमण

इजरायली सोरोका अस्पतालमा इरानको आक्रमण

नेतान्याहुको कडा चेतावनी: ‘इरानले चर्को मूल्य चुकाउनेछ’


काठमाडौ ।  इरानले इजरायलको बेर्शेबास्थित सोरोका मेडिकल सेन्टरमा गरेको मिसाइल आक्रमणले अस्पतालमा ठूलो क्षति पुर्‍याएको छ। इजरायली सेनाका अनुसार यो आक्रमणमा कम्तीमा ४० जना घाइते भएका छन्। इजरायलको आपतकालीन सेवा म्यागन डेभिड एडोम (एमडीए) ले ४७ जना घाइते भएको र १८ जना आश्रयस्थलतर्फ भाग्दा घाइते भएको पुष्टि गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको यो कदमलाई “कायरतापूर्ण आतंकवादी हमला” को संज्ञा दिँदै कडा चेतावनी जारी गरेका छन्। उनले एक्समा लेखे, “आज बिहान इरानको तानाशाही शासनले बेर्शेबाको सोरोका अस्पताल र निहत्था नागरिक बस्तीमाथि मिसाइल प्रहार गरेको छ। यो मानवताविरुद्धको जघन्य अपराध हो। इरानका तानाशाहलाई यो कायरताको चर्को मूल्य चुकाउन बाध्य बनाइनेछ। हामी यो आक्रमणको जवाफमा कठोर र निर्णायक कारबाही गर्नेछौँ।”

इरानले भने यो आक्रमण अस्पताल नभई बेर्शेबास्थित इजरायली सेनाको “कमान्ड एन्ड इन्टेलिजेन्स (सी४आई) मुख्यालय” र गव-यम टेक्नोलोजी पार्कमा रहेको सैन्य गुप्तचर शिविरलाई लक्षित गरेको दाबी गरेको छ। इरानी समाचार एजेन्सी आईआरएनएका अनुसार यो जवाफी कारबाही इजरायलको अराक हेभी वाटर रियाक्टर र नतान्ज आणविक केन्द्रमा भएको आक्रमणको प्रतिक्रियास्वरूप थियो।

इजरायलका रक्षा मन्त्री इस्राइल काट्जले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई “कायर” भन्दै युद्ध अपराधको आरोप लगाएका छन्। उनले इरानविरुद्ध रणनीतिक लक्ष्यमा आक्रमणलाई तीव्र बनाउने र “आयतोल्लाह शासन” लाई कमजोर पार्ने योजना रहेको बताए। इजरायलका राष्ट्रपति इसाक हर्जोगले यो आक्रमणले नवजात शिशु, गर्भवती महिला, डाक्टर र वृद्धहरूको नर्सिङ होमलाई निशाना बनाएको बताए।

सोरोका अस्पतालका अनुसार मिसाइल आक्रमणअघि नै अस्पतालको एक तल्ला खाली गरिएको थियो, जसले ठूलो मानवीय क्षति हुनबाट जोगायो। इजरायली मिडियाले अस्पतालमा भाँचिएका झ्याल र धुवाँको मुस्लो देखिएको फुटेज प्रसारण गरेको छ। यो अस्पताल गाजाबाट २२ माइल टाढा छ र दक्षिणी इजरायलका १० लाखभन्दा बढी बासिन्दालाई सेवा प्रदान गर्छ।

यो आक्रमण इरान र इजरायलबीच सात दिनदेखि जारी तनावको हिस्सा हो। इजरायलले इरानको आणविक केन्द्रहरूमा आक्रमण गरेको थियो भने इरानले फत्ताह-१ हाइपरसोनिक मिसाइलसहित दर्जनौँ मिसाइल प्रहार गरेको छ। इरानी अधिकारीहरूले इरानमा २२४ जनाको मृत्यु र १,२७७ जना घाइते भएको बताएका छन् भने इजरायलमा २४ जनाको मृत्यु र सयौँ घाइते भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित कारबाहीको योजनालाई स्वीकृति दिएको तर अन्तिम निर्णय नगरेको अमेरिकी मिडियाले जनाएका छन्। इरानले अमेरिकाले हस्तक्षेप गरेमा कडा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।