काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को पार्टी राजनीतिमा सक्रिय हुने चाहना व्यक्त गर्नुभएको छ। मंगलवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा भण्डारीले आफ्नो लामो समयको योगदान र एमालेप्रति प्रतिबद्धता दोहोर्याउँदै पार्टीमा सक्रिय भूमिका खोजेको बताउनुभयो।
भण्डारीको यो कदम ओलीले जेठ २५ गते कीर्तिपुरमा अनेरास्ववियुको महाधिवेशन उद्घाटनमा दिएको अभिव्यक्तिपछि आएको हो। ओलीले भण्डारीको जिल्ला भ्रमणलाई लक्षित गर्दै घुमाउरो पारामा चेतावनी दिएका थिए, “अर्को खेल हुन खोज्या छ यहाँ, फलाना आउने अरे।” यो भनाइप्रति असन्तुष्ट बनेकी भण्डारीले बालुवाटार भेटमा आफूलाई कार्यकर्ता भेट्न कसैको अनुमति नचाहिने प्रष्ट पार्नुभयो। “मैले एमालेमा पसिना बगाएको छु, मेरो योगदानलाई कसैले रोक्न सक्दैन,” भण्डारीले ओलीसँगको भेटमा भनेको स्रोतले जनाएको छ।
भण्डारी निकट एक नेताले भने, “उहाँले अध्यक्षज्यूसँग प्रष्ट कुरा राख्नुभयो। पार्टी बिग्रिएकोमा चिन्ता छ, उहाँ पछाडि हट्ने कुरै छैन।” भण्डारीले राजनीतिमा सक्रिय हुने दृढ अडान राखिसकेको र ओलीसँग पार्टीको आगामी रणनीतिबारे छलफल गरेको बताइएको छ। यद्यपि, भण्डारीको स्वकीय सचिवालयका डा. भेषराज अधिकारीले काठमाडौँबाहिर रहेका कारण भेटको विस्तृत कुराकानीबारे जानकारी नभएको बताए।
यो भेटले एमालेको आगामी भदौ २०–२२ मा हुने विधान अधिवेशनअघि संगठनमा तरंग ल्याएको छ। खासगरी, पार्टीको ७० वर्षे उमेरहद र नेतृत्वको कार्यकाल सीमा (दुई कार्यकाल) को विषयमा नेताहरूबीच बहस चर्किएको छ। २०७८ को विधान महाधिवेशनले ७० वर्षे उमेरहद लागू गरेको थियो, तर २०८० जेठमा सचिवालय र केन्द्रीय कमिटी बैठकले यो व्यवस्था निलम्बन गरेको थियो। यो निलम्बन विशेषगरी मुकुन्द न्यौपानेको एमाले फिर्तीका लागि गरिएको मानिन्छ।
ओलीले जेठ २५ मा ७० वर्षे उमेरहद “फेल” भएको अभिव्यक्ति दिएपछि भण्डारीको सम्भावित नेतृत्व र ओलीको ११औँ महाधिवेशनपछिको भूमिकाबारे चर्चा तीव्र भएको छ। ओलीले ७० वर्ष पूरा गरिसकेका र दुई कार्यकाल अध्यक्ष भइसकेकाले भण्डारीलाई अध्यक्ष बनाए उनको नेतृत्व सहजै हस्तान्तरण हुन सक्ने विश्लेषण छ। तर, ईश्वर पोखरेललगायत केही नेताले उमेरहद र दुई कार्यकालको व्यवस्थालाई निरन्तरता दिनुपर्ने पक्षमा मत राखेका छन्।

प्रतिक्रिया