सिरहा, – आँपको यामले सिरहालाई मगमगाएको छ। सडक किनारा, बजार र गाउँबस्तीमा आँपको सुगन्ध र स्वादले सबैलाई लोभ्याइरहेको छ। मालदहलगायतका आँपले सिरहाको पहिचानलाई थप बलियो बनाएको छ। यो केवल स्वादिलो फल मात्र होइन, सिरहाका किसानका लागि रोजगारी, आत्मनिर्भरता र आर्थिक समृद्धिको आधार पनि बनेको छ।
‘आँपको राजधानी’ को उपमा पाएको सिरहाको यो पहिचान यहाँको बृहत् उत्पादन, उर्वर भूभाग, गर्मी मौसम र आँपको विशिष्ट गुणस्तरका कारण बनेको हो। मधेस प्रदेशको ७७ प्रतिशतभन्दा बढी आँप उत्पादनमा योगदान गर्ने सिरहा देशकै अग्रणी जिल्ला हो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेस प्रदेशका अनुसार, सिरहामा वार्षिक एक लाख चार हजार ६७६ मेट्रिक टन आँप उत्पादन हुन्छ। देशभर ४२ हजार ७७३ हेक्टरमा हुने आँपखेतीमध्ये मधेसमा २९ हजार ९९ हेक्टर छ, जसबाट तीन लाख ९५ हजार ७९४ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ।
गोलबजार नगरपालिका–३, मुसहर्नियाका किसान भरत यादव र निरज सिंहले सय बिघामा फैलिएको आँपको बगैँचा बनाएर व्यावसायिक खेतीको नमूना प्रस्तुत गरेका छन्। “पहिला परम्परागत खेती गथ्र्यौँ, अहिले बजार र प्रविधिमा जोड दिएर व्यावसायिक बनाएका छौँ,” सिंह भन्छन्, “हाम्रो बगैँचाले दैनिक २५–३० जनालाई रोजगारी दिएको छ। सिजनमा दुई सयदेखि पाँच सय कार्टुन आँप काठमाडौँ, पोखरा, वीरगञ्ज, जनकपुर पठाउँछौँ।” यो बगैँचाले लाखौँको आँप बिक्री गर्छ।
नेपाली आँप बजारमा आउनुअघि नै भारतीय आँपले बजार कब्जा गर्ने गरेको किसानको गुनासो छ। जेठको दोस्रो सातादेखि भारतीय आँप भित्रिँदा स्थानीय आँप, जो असारमा मात्र परिपक्व हुन्छ, प्रतिस्पर्धामा पछाडि पर्छ। “भारतीय आँप सस्तोमा आउँछ, तर रसायन प्रयोग र कम स्वादका कारण उपभोक्ताको गुनासो छ,” किसान भरत यादव भन्छन्। “हाम्रो आँप जैविक र स्वादिलो छ, तर बजार संरक्षणको अभावमा घाटा बेहोर्नुपरेको छ।”
‘लहानको माल्द आँप’ स्वादमा चर्चित छ, तर बजारमा नक्कली लेबलिङ र रसायनयुक्त आँपका कारण यसको बदनामी बढ्दो छ। लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइ भन्छन्, “वास्तविक माल्द आँपको मिठास र सुगन्ध अतुलनीय छ, तर नक्कली लेबलिङले उपभोक्तामा भ्रम बढाएको छ।” लहानले विगत दुई वर्षदेखि माल्द आँपलाई ‘ब्राण्डिङ’ गरी काठमाडौँ, पोखरालगायत सहरमा पठाउँदै आएको छ। तर, यस वर्ष उत्पादन २० प्रतिशतले घटेकाले ब्राण्डिङ रोकिएको छ।
मधेस प्रदेशमा आँपको भण्डारणका लागि चिस्यान केन्द्र नहुनु ठूलो समस्या हो। लहान नगरप्रमुख महेशप्रसाद चौधरी भन्छन्, “चिस्यान केन्द्र भए किसानले उपयुक्त समयमा आँप बेच्न सक्थे। हामीले प्रदेश र केन्द्र सरकारसँग माग राखे पनि प्रगति भएको छैन।” प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको आँपलाई युरोप निर्यात गर्नुपर्ने बताए पनि चिस्यान केन्द्र र प्रशोधन कारखानाको अभावले यो सम्भव भएको छैन।
कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र महासेठका अनुसार, सिरहाको चुरे क्षेत्रमा अनुदानमा आँपका बिरुवा वितरणले खेती विस्तार भइरहेको छ। तर, आयात नीति, बजार संरक्षण र चिस्यान केन्द्रको अभावले किसानहरू समस्यामा छन्। जानकारहरूका अनुसार, सरकारले चिस्यान केन्द्र, प्रशोधन कारखाना र निर्यातमा सहजीकरण गरेमा मधेसको आँप अन्तरराष्ट्रिय ब्राण्ड बन्न सक्छ। सिरहाको आँपले स्वाद र सुगन्ध मात्र होइन, आर्थिक समृद्धिको सम्भावना पनि बोकेको छ।

प्रतिक्रिया