ग्वार्कोमा देशकै पहिलो फ्लाई ओभर आज उद्घाटन

ग्वार्कोमा देशकै पहिलो फ्लाई ओभर आज उद्घाटन

सरकारी लापरवाहीले निर्माणमा ढिलाई


काठमाडौँ  – ललितपुरको व्यस्त ग्वार्को चोकमा निर्मित देशकै पहिलो फ्लाई ओभरले पूर्णता पाएको छ। पटकपटक म्याद थप र प्राविधिक जटिलताका कारण ढिलाइ भएको यो परियोजना आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् उद्घाटन गर्दै हुनुहुन्छ। यो फ्लाई ओभरले ट्राफिक जामको समस्या घटाउने अपेक्षा गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले सञ्चालन गरेको ग्वार्को ओभरपास परियोजना २०७८ फागुन १२ मा आशिष–समानान्तर रेलिगेर जेभीसँग ठेक्का सम्झौता भएको थियो। २०८० फागुन ११ मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि प्राविधिक समस्याले २०८१ पुस ८ सम्म म्याद थप भएको थियो। केन्द्रका प्रवक्ता प्रदीप भण्डारीका अनुसार, ठेकेदारले समयमा काम नसकेपछि करिब एक करोड ४७ लाख हर्जना तिराएर निर्माण सम्पन्न गरिएको छ।

प्रारम्भिक डिजाइनमा परिवर्तन, माटो सुधार र अप्रोच सडक निर्माणमा देखिएको असमान दबाबका कारण ढिलाइ भएको भण्डारीले बताए। “प्रारम्भिक डिजाइनमा परिमार्जन र माटो सुधारका लागि थप समय र स्रोत खर्च भयो। सातदोबाटोतर्फ प्यानल–४ र प्यानल–५ बीचको अन्तराल बढ्दा पुनः सन्तुलन जडान गर्नुपर्यो,” उनले भने। ग्वार्को ओभरपासको कुल लम्बाइ ५७६.२ मिटर छ, जसमा ग्वार्को चोकबाट लगनखेलतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटर र्याम्प र ३६.२ मिटरको पुल खण्ड छ। यो चार लेनको फ्लाई ओभर १६.४ मिटर चौडा छ।

प्रारम्भिक सम्झौता १७ करोड ६ लाख ८८ हजार ८८८ मा भए पनि ढिलाइले लागत ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ। इपिसी प्रणालीमा निर्माण भएको यो परियोजनामा डिजाइन र निर्माणको जिम्मेवारी ठेकेदारको छ। निर्माणपश्चात् पाँच वर्ष र डिजाइनमा १० वर्षसम्म त्रुटि सुधारको जिम्मेवारी ठेकेदारको रहने भण्डारीले बताए।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले फ्लाई ओभरले ग्वार्कोको ट्राफिक जाम हट्ने बताए। “तर, सातदोबाटोमा सवारी चाप बढ्न सक्छ। लामो फ्लाई ओभरको योजना आवश्यक छ,” उनले भने। पूर्वाधारविद् गजेन्द्रप्रसाद थपलियाले कोटेश्वर, बानेश्वर, थापाथलीलगायत चोकमा पनि अन्डरपास र ओभरपास बनाउनुपर्ने सुझाए।

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले बुधबार गरेको निरीक्षणमा बत्ती र सिसीटिभी जडानजस्ता साना काम बाँकी रहेको पाइएको समिति सदस्य माधव सापकोटाले बताए। भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले निर्माणलाई गति दिन निरन्तर स्थलगत निरीक्षण र निर्देशन दिएका थिए। आगामी वर्ष टोखा–छहरे, नयाँबानेश्वर अन्डरपास, सिद्धबाबालगायत सुरुङमार्ग निर्माणको योजना छ, जसले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा छ।