विनयी खोलाको बाढीले बगाएको दुम्कीवास पुल असार १६ देखि सञ्चालन हुने

विनयी खोलाको बाढीले बगाएको दुम्कीवास पुल असार १६ देखि सञ्चालन हुने


वलपरासी – पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकास्थित विनयी खोलामा डाइभर्सन निर्माण नगर्ने निर्णय भएको छ। गत बिहीबार राति खोलाको बाढीले यात्रुवाहक बस बगाएपछि यस्तो निर्णय गरिएको हो।

गत पुस २६ गते दुम्कीवास पुल भाँचिएपछि डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको थियो। तर, जेठको अन्तिम हप्तादेखि लगातार वर्षाले डाइभर्सन बारम्बार बगाउन थालेपछि जोखिम बढेको भन्दै प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले अब डाइभर्सन नबनाउने बताए। “सरोकारवालाको बैठकले नयाँ बन्दै गरेको दुम्कीवास पुल असार १६ देखि सञ्चालन गर्ने निर्णय गरेको छ। त्यसैले वैकल्पिक सडक प्रयोग गर्नुपर्ने हुन्छ,” उनले भने।

हलुका सवारीका लागि होङ्सी सिमेन्ट गेट हुँदै सर्दीबाट दुम्कीवास बजार निस्कने बाटो प्रयोग गरिएको छ। तर, मालवाहक सवारी पूर्ण रूपमा रोकिएका छन्। दाउन्ने क्षेत्रमा वर्षाले सडक हिलाम्य र चिप्लो हुँदा सवारी आवागमन ठप्प छ। “दाउन्ने सडक मर्मत नभएसम्म ठूला सवारी चलाउन सकिँदैन। रातको समयमा कुनै पनि सवारी सञ्चालन गर्न सकिँदैन,” पाण्डेले भने।

पछिल्लो पाँच दिनदेखि मालवाहक सवारी विनयी खोला र दाउन्ने पहाडमा रोकिएका छन्। “मालवाहक सवारीलाई वैकल्पिक बाटो प्रयोग गर्न वा पुल सञ्चालन नहुन्जेल पर्खन अनुरोध गरेका छौँ,” पाण्डेले थपे।

विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले सडक विस्तारको नाममा २०७५ देखि भत्काइएको नारायणघाट–बुटवल खण्डको अव्यवस्थित निर्माण र ठेकेदारको लापरबाहीले समस्या चर्किएको बताए। “वर्षाले हिलाम्य भएको सडक र भत्किएको पुलले यात्रु र मालवाहक सवारीलाई ठूलो कठिनाइ भएको छ,” उनले भने।

स्थानीय प्रशासनले सडक मर्मत र पुल सञ्चालनलाई तीव्रता दिन सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ। मौसम विभागले अझै वर्षा हुने पूर्वानुमान गरेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।