काठमाडौँ,- विपी राजमार्गको सिन्धुली-खुर्कोट सडकखण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। अविरल वर्षाका कारण सडक प्रभावित हुने र विपद्को जोखिम बढ्ने भन्दै स्थानीय प्रशासनले १५ दिनका लागि यो खण्डमा राति सवारी आवागमन निषेध गरेको हो।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जारी गरेको सूचनाअनुसार साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। वर्षाले सडक हिलाम्य र चिप्लो हुने, पहिरोको जोखिम बढ्ने र विपद्को अवस्था सिर्जना हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको उनले उल्लेख गरे।
सिन्धुली, काभ्रे र रामेछापका जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले यो निर्णय गरेको हो। स्थानीय प्रशासनले सडकको अवस्था सुधार र विपद् व्यवस्थापनका लागि समन्वय गरिरहेको जनाएको छ। सर्वसाधारणलाई वैकल्पिक बाटो प्रयोग गर्न वा रातिको समयमा यात्रा नगर्न आग्रह गरिएको छ।
मौसम विभागले अझै केही दिन वर्षा जारी रहने पूर्वानुमान गरेको छ। प्रशासनले सवारी चालक र यात्रुहरूलाई सतर्कता अपनाउन र जोखिम क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ।

प्रतिक्रिया