साँखु । नेपाल प्रेस युनियन साँखु शाखाको आयोजनामा शंखरापुर नगरपालिकामा सातदिने पत्रकारिता तालिम आज गार्डेन साँखुमा प्रारम्भ भएको छ। पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ ।
उद्घाटन समारोहमा डा मिनेन्द्र रिजालले पत्रकारिताको महत्त्वमाथि प्रकाश पार्दै स्वतन्त्र र निष्पक्ष पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने बताए। उनले पत्रकारिता केवल समाचार सम्प्रेषण मात्र नभई समाजको ऐना भएको र डिजिटल युगमा सही सूचना र तथ्यमा आधारित पत्रकारिताले जनताको विश्वास जित्नुपर्ने बताए। उनले तालिमले स्थानीय स्तरमा पत्रकारहरूको क्षमता वृद्धि गरी समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पत्रकारितामा डिजिटल प्रविधिको प्रयोग र समयसापेक्ष निष्पक्ष समाचार सम्प्रेषणको आवश्यकतामाथि जोड दिए। उनले आजको युगमा पत्रकारिता पारदर्शी र स्वतन्त्र हुनुपर्ने र डिजिटल मिडियाले अवसर र चुनौती दुवै ल्याएको भन्दै ती अवसरलाई सही ढंगले उपयोग गर्नुपर्ने बताए। उनले तालिममा सहभागीहरूलाई पत्रकारिताको नैतिकता र जिम्मेवारीप्रति सचेत रहन आग्रह गरे।
कार्यक्रममा विशिष्ट अतिथिहरूमा सांसद तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम, साहित्यकार लोकेश ढकाल, शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, उपमेयर समिता श्रेष्ठ, युनियनका सल्लाहकार धर्मेन्द्र झा, नेपाली कांग्रेस शंखरापुर सभापति दिलिप कुमार श्रेष्ठ, महासमिति सदस्यहरू गोविन्द बहादुर श्रेष्ठ र मन्जु खड्कालगायत स्थानीय सुरक्षा निकाय प्रमुख, पत्रकार र साहित्यकारहरूको सहभागिता रहेको थियो।
तालिममा शंखरापुर नगरपालिकाका वडा नं। १ देखि ९ सम्मका २७ जना सहभागी छन्। पहिलो दिनको प्रशिक्षण राष्ट्रिय समाचार समितिका अध्यक्ष तथा युनियनका सल्लाहकार धर्मेन्द्र झाले प्रदान गरेका थिए। प्रेस युनियन साँखु शाखाका सचिव भाष्कर विजयकृष्णका अनुसार तालिम असार १४ गते समापन हुनेछ। यो तालिमले स्थानीय पत्रकारहरूलाई समाचार लेखन, डिजिटल मिडिया र पत्रकारिताको नैतिकताबारे व्यावहारिक ज्ञान प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया