काठमाडौं – इरानको राजधानी तेहरानमा रहेका १७ नेपालीमध्ये ११ जनालाई उद्धारका लागि भारतीय दूतावासले आइतबार तेहरानबाट उत्तरी सहर मशहद लैजाने भएको छ। भारतीय दूतावासले आइतबार बिहान ७ बजे तेहरानबाट बसमार्फत कोम हुँदै मशहद पुर्याउने तयारी गरेको छ।
तेहरानमा कार्यरत हरि थापाले भने, “हामीलाई आइतबार बिहानै एक ठेगानामा जम्मा हुन भनिएको छ। त्यहाँबाट मशहद पुर्याएर सम्भवतः विमानमार्फत भारत लैजाने व्यवस्था हुनेछ।” कोमसम्म पुग्न साढे दुई घण्टा र मशहद पुग्न थप १२ घण्टा लाग्ने उनले बताए।
उद्धार हुनेमा उदयपुरका हरि थापा, उनका छोरा उत्सव थापा, श्रीमती गायत्री कार्की थापा, बुटवलका विष्णु भुसाल, बुद्धिसागर पौडेल, गणेश पोखरेल, सुमन गैरे, विष्णुप्रसाद बन्जाडे, यज्ञ मरासिनी र राजु खनाल छन्। यी नेपालीहरू ८ देखि २४ वर्षसम्म तेहरानका विभिन्न दूतावास र इरानी रेस्टुरेन्टमा कार्यरत थिए।
गणेश पोखरेलले भने, “मेरो असार १ गते बिदाको टिकट काटिएको थियो, तर दुई दिनअघि इजरायलको आक्रमणले युद्ध सुरु भयो। यहाँ बाहिर मानिसहरू सामान्य हिँडडुल गर्छन्, तर मिसाइल पड्केको आवाज आउँछ।”
तेहरान छाडेका ७ नेपाली शनिबार बेलुका फर्किंदै छन्। इरानी जेलमा रहेका ५ नेपालीको उद्धार मिति तय भएको छैन। दोहास्थित नेपाली दूतावासले गोविन्द डाँगी, मदन डाँगी र पुष्कर खत्रीका लागि ट्राभल डकुमेन्ट पठाएको छ, जबकि महेश डाँगी र बालकृष्ण खड्कासँग राहदानी छ। उनीहरूलाई आवासीय कानुन उल्लंघनको आरोपमा डेढ महिनाअघि पक्राउ गरिएको थियो।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारत सरकारसँग उद्धारका लागि आग्रह गरेकी थिइन्। उनले भनेकी छन्, “इरानमा रहेका नेपालीको उद्धारका लागि भारतसँग अनुरोध गरेको छु। हामी सकारात्मक जवाफको अपेक्षा गर्छौं।”

प्रतिक्रिया