बागमती र धोबीखोलाको पानी सतर्कता सीमाभन्दा माथि

बागमती र धोबीखोलाको पानी सतर्कता सीमाभन्दा माथि


 

काठमाडौं —
काठमाडौं जिल्लास्थित बागमती नदी (गौरीघाट) र धोबीखोला (चाबहिल) को पानीको सतह आइतबार राति सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आइतबार राति ११:३० बजेपछि यी दुवै नदीको पानीको बहाव क्रमिक रूपमा बढिरहेको छ र अझै केही समय पानीको सतह बढ्न सक्ने अनुमान गरिएको छ। विभागले नदी किनाराका बासिन्दा तथा ती क्षेत्रबाट आउने-जाने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार हाल भइरहेको वर्षा अझै जारी रहने भएकाले आकस्मिक बाढीको जोखिम समेत रहन सक्ने चेतावनी दिइएको छ। यसका साथै नदी किनारमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सार्न स्थानीय प्रशासनलाई आवश्यक तयारी अवस्थामा रहन भनिएको छ।

बाढी तथा डुबानको जोखिम भएका क्षेत्रका नागरिकलाई अनावश्यक रूपमा नदी किनार नजिक नजान, आवश्यक परेमा स्थानीय प्रशासन वा सुरक्षाकर्मीलाई खबर गर्न तथा आपतकालीन अवस्थामा सहयोगका लागि सतर्क रहन विभागले अनुरोध  गरेको  छ |