३८ लाख खर्च, सालझण्डी हाटबजार जंगलमा परिणत

३८ लाख खर्च, सालझण्डी हाटबजार जंगलमा परिणत


बुटवल – रुपन्देहीको सैनामैना नगरपालिका–१० पानबारीमा ३८ लाख रुपैयाँको लगानीमा निर्माण भएको सालझण्डी हाटबजार चार वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसकेर जंगलमा परिणत भएको छ। पूर्व–पश्चिम राजमार्गबाट करिब ३०० मिटर पश्चिममा अवस्थित यो हाटबजारमा १८ वटा सेड, सुविधायुक्त शौचालय र सडक स्तरउन्नति गरिएको भए पनि व्यापारीहरूको उदासीनताले प्रयोगविहीन बनेको हो।

सैनामैना–१० का वडाध्यक्ष कृष्णप्रसाद पोख्रेलका अनुसार, अव्यवस्थित र परम्परागत हाटबजारलाई आधुनिक बनाउन मुर्गिया, कलौनी र सालझण्डीमा हाटबजार निर्माण गर्ने योजना थियो। मुर्गिया र कलौनीका हाटबजार सञ्चालनमा आए पनि सालझण्डीको हाटबजार भने बस्तीबाट एकान्तमा रहेको र घुमाउरो बाटोका कारण व्यापारीहरूले रुचाएनन्। “सिधा बाटोका लागि पक्की वा झोलुङ्गे पुल बनाउन संघ र प्रदेश सरकारसँग बजेट माग गरेका छौँ, तर अहिलेसम्म सुनुवाइ भएको छैन,” पोख्रेलले भने।

हाटबजारका सेडहरू जीर्ण बन्दै गएका छन् भने संरचनाभित्र बोटबिरुवा उम्रिएर झाडी बनेको छ। पुरानो हाटबजार अहिले पनि राजमार्गको छेउ र बजारको भित्री बाटोमा सञ्चालित छ, जसले आवतजावतमा समस्या र सवारी दुर्घटनाको जोखिम बढाएको छ। स्थानीयहरूले अव्यवस्थित हाटबजारले बजारको सौन्दर्यमा समेत असर पारेको गुनासो गरेका छन्।

सैनामैना नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख सुरज न्यौपानेले विद्युत्, खानेपानी, बाउन्ड्री, नाली, इन्टरलक टायल र प्रशासनिक भवन निर्माणका लागि बजेट अभावले हाटबजार सञ्चालनमा ढिलाइ भएको बताए। “संघ, प्रदेश र पालिकाबाट बजेट नपर्दा बाँकी पूर्वाधार निर्माण अघि बढ्न सकेन,” उनले भने।

एसियाली विकास बैंक (एडीबी) ले सालझण्डी हाटबजारलाई रात्रिकालीन हाटबजार, पार्क, सिमसार क्षेत्र र पर्यटकीय स्थलका रूपमा विकास गर्न डीपीआर तयार गरेको छ। न्यौपानेका अनुसार, एडीबीले आगामी आर्थिक वर्षमा बाँकी काम शुरू गर्ने प्रतिबद्धता जनाएको छ। “हाटबजारसँगै पार्क पनि सञ्चालनमा आउने विश्वास छ,” उनले थपे।

स्थानीय बासिन्दाहरूले भने हाटबजारलाई व्यवस्थित गर्न तत्काल बाटो र पुल निर्माणमा जोड दिनुपर्ने माग गरेका छन्।