चितवन, असार १०, २०८२ – भरतपुर महानगरपालिकामा सञ्चालित भूमिगत विद्युतीकरणको काम वर्षायामका कारण तीन महिनाका लागि रोकिएको छ। सडक विभागले वर्षातमा सडक खन्न स्वीकृति नदिने निर्णय गरेपछि असार ३ गतेदेखि भदौ मसान्तसम्मका लागि काम स्थगित भएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ।
आयोजना प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार, सडकमा खाल्डा खन्दा पानी पस्ने, सडक भासिने र गुणस्तर बिग्रने समस्याका कारण सडक विभागले काममा रोक लगाएको हो। “अहिले पाइप गाड्ने, खाल्डा खन्ने जस्ता मुख्य काम रोकिएका छन्, तर पाइप गाडिसकिएका ठाउँमा केवल जोड्ने र पोल गाड्ने काम भने भइरहेको छ,” उनले भने। वर्षातपछि खाल्डा खन्ने कामलाई तीव्र गति दिइने उनले बताए।
आयोजनाले हालसम्म भरतपुरमा विद्युतीकरणको ७५ प्रतिशत काम सम्पन्न गरेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुलचोकदेखि केन्द्रीय बस टर्मिनलसम्मको सडकमा भूमिगत गर्ने काम पूरा भएको छ। बाइपास सडकको आँपटारीदेखि केन्द्रीय बस टर्मिनलसम्म एकतर्फी भूमिगतको काम सकिएको छ, भने अर्कोतर्फ बाँकी छ। “फाउन्डेसन राख्ने काम सकिएको छ, केही ठाउँमा मुख्य लाइन जडान बाँकी छ,” सुवेदीले थपे। तैंतीस केभी जडानको काम पूरा भएको छ, भने ११ केभी र ४०० भोल्टको केवल राख्ने काम जारी छ।
यो आयोजनाको कुल लागत रु १ अर्ब ४० करोड अनुमान गरिएको छ, जसमध्ये सुरुमा रु १ अर्ब ३० करोड विनियोजन भएको थियो। भारतको टाटा प्रोजेक्ट लिमिटेडले ठेक्का लिएर काम गरिरहेको छ। ठेक्का सम्झौताअनुसार पहिलो चरणको म्याद सन् २०२४ को जनवरी २० मा सकिएपछि आठ महिनाका लागि समय थप गरिएको छ। काम थप हुँदै जाँदा म्याद पनि थपिँदै लगिएको सुवेदीले बताए।
एसियाली विकास बैंकको सहयोगमा सञ्चालित यो आयोजनाले भरतपुरको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया