अवकाश कोष खारेजी निर्णयप्रति असन्तुष्टि : बैंकर्सले भेटे प्रधानमन्त्री र अर्थमन्त्री

अवकाश कोष खारेजी निर्णयप्रति असन्तुष्टि : बैंकर्सले भेटे प्रधानमन्त्री र अर्थमन्त्री


काठमाडौँ । बजेट मार्फत आएको अवकाश कोष खारेजीको निर्णयमा असन्तुष्ट रहेका बैकर्सले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेका छन् ।

बैंक बीमा तथा बित्तिय क्षेत्र कर्मचारी संघ नेपालका पदाधिकारीले सोमबार प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट गरेर उक्त व्यवस्था संशोधन हुनुपर्ने माग राखेका हुन् ।

सो भेटमा प्रधानमन्त्रीले हाल खाईपाई आएको सुबिधा कटौती नहुने आश्वासन दिएको संघका अध्यक्ष धर्मराज मैनालीले जानकारी दिए । यस्तै, सोमबार बिहान भएको भेटमा अर्थमन्त्री पौडेलले बैकर्सको माग सम्बोधन हुने आश्वासन दिएका थिए ।

‘तपाईहरुलाई अफ्ट्यारो पर्ने गरि निर्णय हुदैन, अवकाश कोषको बिषयमा सरोकारवालासँग छलफल गरि निर्णय हुन्छ । कर तथा मन्त्रालयमा अड्किएर रहेको बिनियमावलीको पनि छिट्टै संबोधन हुन्छ’, अर्थमन्त्रीसँगको भेटघाटमा भएको कुराकानीलाई उद्दत गर्दै अध्यक्ष मैनालीले भने ।

भेटमा बैंक बिमा तथा बित्तिय क्षेत्र कर्मचारी संघ नेपालका अध्यक्ष धर्मराज मैनाली, उपाध्यक्ष लिला जिसि, कृषि बिकास बैंक कर्मचारी संघ नेपालका अध्यक्ष छगेन्द्र आचार्य, नेपाल बैंक कर्मचारी संघका अध्यक्ष नवराज लम्साल, नेपाल राष्ट्र बैंक कर्मचारी संघ नेपालका अध्यक्ष रामहरी घिमिरे, बाणिज्य बैंक कर्मचारी संघका महासचिव रबिन्द्र चौलागाई लगायत पदाधिकारीहरुको सहभागिता थियो ।

बजेट मार्फत लामो समयदेखि संस्थानमा सञ्चालित अवकाश कोष खारेजीको निर्णय भएसँगै बैंकर्सहरु आन्दोलीत बनेका छन् । उनीहरुले अवकाश कोष खारेजीभन्दा पनि स्वच्छिक बनाउनुपर्ने माग राख्दै आएका छन् ।

उक्त माग तत्काल सम्बोधन नभए बैंक तथा वित्तीय संस्था नै ठप्प पार्ने समेत उनीहरुले चेतावनी दिदैँ आएका छन् ।