सदनमा अवरोध नछाड्ने भए संसदीय व्यवस्था विश्वास छैन भनेर देखाउन रास्वपालाई सरकारको चुनौती

सदनमा अवरोध नछाड्ने भए संसदीय व्यवस्था विश्वास छैन भनेर देखाउन रास्वपालाई सरकारको चुनौती


काठमाडौँ। सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले रास्वपा र राप्रपालाई संसदीय गतिविधि प्रभावित नपार्न आग्रह गरेका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै कर्मचारीमाथि अख्तियारले छानबिन सुरु गर्दा पूर्वाग्रह राखेर राजीनामा मागेको आरोप लगाए ।

सरकारका प्रवक्ता समेत रहेका उनले भने, ‘कुनै व्यक्तिमाथि पूर्वाग्रह राखेर यति नभए हुँदै हुँदैन भन्ने ढंगले संसदमा प्रस्तुत हुन मिल्दैन। उहाँहरूमा परिपक्वता पनि देखिँदैन। कि रास्वपाले भन्न सक्नुपर्‍यो संसदीय व्यवस्था र यो व्यवस्थाप्रति विश्वास छैन भनेर। होइन भने समस्या समाधान गर्ने थलोमा अवरोध गरेर हुन्छ ।’

उनले माओवादीसँग सहमति गरेर नै सरकारले छानबिन समिति गठन गरेको बताए । उनले हठ त्यागेर संसदीय कारबाहीमा सहभागी हुन आग्रह गरे। प्रतिपक्ष दलहरू मेरो गोरुको बाह्रै टक्का भने जस्तोगरी प्रस्तुत भएर समस्याको समाधान गर्नबाट भागेर मुलुकलाई एउटै विषयमा अड्काउन खोजेको आरोप लगाए ।

उनले थपे, ‘मन्त्रालयको कुनै कर्मचारीमाथि अख्तियारले अनुसन्धान गर्न थाल्दा मन्त्रीले राजीनामा दिँदै जाने कुरा हुँदैन। त्यो व्यक्तिसँग जोडिएको विषय छैन ।

यो संसदीय विधि र पद्धतिअनुसार छैन । सरकारले कुनै हठ गरेको छैन । संसद् बहिष्कार गरिरहेका प्रतिपक्षी दलहरूलाई म के आग्रह गर्दछु भने स्वीकार गरेर जानुपर्छ ।’