गुटबन्दी, लापरबाही र विफल नेतृत्वविरुद्ध तरुण दलमा बिद्रोह

गुटबन्दी, लापरबाही र विफल नेतृत्वविरुद्ध तरुण दलमा बिद्रोह

तदर्थ समिति भंग गर्न माग गर्दै आमरण अनसन सुरू


काठमाडौं, असार १५
गुटबन्दी, गैरजवाफदेही व्यवहार र नेतृत्वको चरम असफलताविरुद्ध तरुण दलभित्रैबाट बिद्रोह भएको छ। महाधिवेशन गर्न असक्षम तदर्थ समितिलाई भंग गर्न माग गर्दै तरुण दलका केन्द्रीय सदस्यहरू रोजन राई र अम्बिका बास्कोटाले नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन सुरू गरेका छन्।

अनसनकारीहरूको कडा आरोप छ— समितिले संगठनलाई व्यक्तिवादी कब्जामा राख्दै लम्जुङमा खुकुरी प्रहारजस्ता आपराधिक घटनामा संलग्न गुटको संरक्षण गरेको छ। भवन निर्माण बजेटको नाममा प्रचारबाजी गरेर गणेशमान सिंहको नाममा दाग लगाउने कार्य गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

“तीन वर्षमा एउटा अधिवेशन गर्न नसक्ने, ५० भन्दा बढी जिल्लामा मनपरी कार्यवाहक नियुक्ति गर्ने, र पार्टीको निर्देशनसमेत अटेर गर्ने यस्तो नेतृत्वले तरुण दलको पतनको मार्ग खोलेको छ,” अनसनकर्ता रोजन राईले भने।

२०७८ सालमै कांग्रेसले निर्वाचनपछि तीन महिनाभित्र महाधिवेशन गर्न भने पनि समितिले पटक-पटक म्याद थप्दै संगठनलाई निजी सम्पत्तिको रूपमा चलाएको आरोप उनीहरूको छ। पार्टीको केन्द्रीय समितिले २०८१ चैत मसान्तबाट तदर्थ समितिको कार्यकाल स्वतः समाप्त भएको घोषणा गरिसकेको भए पनि समिति अझै पद र शक्तिमा टाँसिइरहेको उनीहरूको भनाइ छ।

“जिम्मेवारीमा असफल हुनेलाई पुरस्कार होइन, दण्ड दिनु पर्छ,” भन्दै अनसनकारीहरूले भ्रष्ट, अलोकतान्त्रिक र निष्क्रिय नेतृत्वको अन्त्यको माग गरेका छन्।

अब नेतृत्व मौन रहनु भनेको यो भ्रष्ट प्रवृत्तिको समर्थन गर्नु हो। पार्टी नेतृत्वले या त तदर्थ समितिलाई तत्काल भंग गर्छ, या फेरि संगठनभित्र आन्तरिक विद्रोह थप चर्किन सक्छ।