काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सोमबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु हुँदैछ। पार्टीको विधानमा प्रत्येक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था भए पनि यो बैठक ९ महिनापछि आयोजना हुन लागेको हो। १६८ सदस्यीय केन्द्रीय समितिको यो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरू सहभागी हुनेछन्।
आइतबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समितिको एजेन्डा तय गरेको थियो। बैठकमा भ्रातृ संगठनहरूको म्याद थप, समसामयिक राजनीतिक विषयहरूको समीक्षा, विदेशस्थित जनसम्पर्क समितिहरूलाई सुदृढ गर्ने, केन्द्र र प्रदेश सरकारको बजेट, क्रियाशील सदस्यता वितरणको स्थिति र सय दिने संगठनात्मक अभियानको प्रगतिमा छलफल हुनेछ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, केही भ्रातृ संगठनहरूले अधिवेशन सम्पन्न गरिसकेका छन् भने बाँकीले गर्नुपर्ने काम र तिनलाई आवश्यक समय प्रदान गर्ने विषयमा पनि छलफल हुनेछ।
प्रवक्ता महतले भने, “संगठनात्मक सय दिने अभियानको प्रगति, सरकारको सञ्चालन र प्रदेश तथा केन्द्रको बजेटबारे छलफल हुनेछ। साथै, विदेशमा रहेका जनसम्पर्क समितिहरूलाई थप प्रभावकारी बनाउने र क्रियाशील सदस्यताको अवस्थाबारे पनि समीक्षा गरिनेछ।” उनले संस्थाको आवश्यकताअनुसार भ्रातृ संगठनहरूलाई समय थप्ने विषयमा पनि बैठकले निर्णय गर्ने बताए।

प्रतिक्रिया