काठमाडौ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको मिति र तयारीलाई लिएर पार्टीभित्र अन्योल र मतभेद गहिरिँदै गएको छ। केन्द्रीय समितिको हालैको बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्ताव हुन नसक्दा यो मुद्दा पेचिलो बन्दै गएको हो। पार्टी विधानअनुसार प्रत्येक चार वर्षमा महाधिवेशन हुनुपर्ने व्यवस्था छ, तर सभापति शेरबहादुर देउवाको दोस्रो कार्यकाल ०८२ मंसिरमा सकिँदै गर्दा पनि महाधिवेशनको मिति तय हुन सकेको छैन।
देउवा ०७८ मंसिरमा सम्पन्न १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए। विधानले एक वर्ष थप गर्न सकिने व्यवस्था गरे पनि संविधानले साढे पाँच वर्षभित्र पार्टी पदाधिकारीको निर्वाचन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। यसअनुसार कांग्रेसले ०८४ जेठभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ। तर, ०८४ वैशाखरजेठमा स्थानीय र मंसिरमा संसदीय निर्वाचन हुने भएकाले अधिकांश नेताहरू ०८३ मै महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।
महामन्त्री गगन थापाले ०८३ भित्रै महाधिवेशन हुने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। तर, क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम नटुंगिएको कारण देखाउँदै उनले महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्न सकेका छैनन्। यसले संस्थापन पक्ष र इतर पक्षबीच तनाव बढाएको छ।
संस्थापन पक्षका केही नेताहरूले भने ०८४ को स्थानीय र संसदीय निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने तर्क अघि सारेका छन्। केन्द्रीय सदस्य अर्जुन जोशीले भने, “सकिन्छ भने ०८२ मंसिरभित्रै महाधिवेशन गरौं, नसके निर्वाचनको मुखमा महाधिवेशन गर्नुहुँदैन। चर्को ध्रुवीकरणले निर्वाचनलाई असर गर्छ। त्यसैले ०८४ को निर्वाचनपछि महाधिवेशन उपयुक्त हुन्छ।” उनले संविधान संशोधन वा साना दलसँग एकीकरणको विकल्प पनि सुझाएका छन्।
यता, संस्थापन इतर पक्षका नेता शेखर कोइरालाले महाधिवेशनको मितिबारे स्पष्ट जवाफ माग गरेका छन्। “महाधिवेशन ०८२ मंसिरभित्रै हुनुपर्छ। यदि हुन सक्दैन भने किन र के कारणले भन्ने कुरा सभापति र पदाधिकारीले चित्तबुझ्दो जवाफ दिनुपर्छ,” कोइरालाले भने। उनले महामन्त्री थापातर्फ संकेत गर्दै महाधिवेशनको तयारीमा जोडतोडले लाग्नुपर्ने बताए।
महाधिवेशनको मिति र तयारीलाई लिएर बढ्दो अन्योलले नेपाली कांग्रेसभित्र आन्तरिक एकता र नेतृत्वमा चुनौती थपिएको छ।

प्रतिक्रिया