‘कुलिङ पिरियड’ मा छेडखानीबारे छानबिन समिति बनाउन सभामुखले मागे दलहरूसँग नाम

‘कुलिङ पिरियड’ मा छेडखानीबारे छानबिन समिति बनाउन सभामुखले मागे दलहरूसँग नाम


काठमाडौँ। ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ अफ पिरियडसम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख दलसँग छलफल गरेका छन् ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बिहीबार अपराह्न सभामुख घिमिरेले एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् ।

उपसभामुख इन्दिरा राना पनि छलफलमा सहभागी थिइन् ।

सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिमको समिति गठन गर्न प्रस्ताव गरे । समितिको टीओआर र समयावधि तथा सदस्यको नामावलीबारे प्रस्ताव गर्न उनले दलहरूसँग माग गरेका छन् ।

प्रमुख दलहरूले संसदीय छानबिन समिति गठन गर्न नै उपर्युक्त हुने सुझाव दिएका सभामुखको सचिवालयले जनाएको छ । उनीहरूले विधेयकको व्यवस्था तोडमोड गरिएको विषय व्यवस्थापिकाको भएकाले सरकारको धारणा माग गर्न आवश्यक नभएको बताएका थिए । तीन वटै प्रमुख दलका नेताहरूले आ-आफ्ना दलसँग छलफल गरेर सभामुखलाई जानकारी गराउने बताएका छन् ।

आगामी असार २३ गते बस्ने प्रतिनिधि सभाको बैठक अगावै दलहरूबीच समझदारी गरेर कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामा समितिको प्रस्ताव गर्ने दलहरूबीच सहमति भएको छ ।