६० वर्षदेखि अधुरै रह्यो लमजुङको सित्तलेस्वाँरामा विमानस्थलको सपना

६० वर्षदेखि अधुरै रह्यो लमजुङको सित्तलेस्वाँरामा विमानस्थलको सपना


लमजुङ –  बेँसीसहर नगरपालिका–५, सित्तलेस्वाँरामा विमानस्थल निर्माणको सपना ६० वर्षअघि देखिएको थियो, तर यो अझै साकार हुन सकेको छैन। स्थानीयले उत्साहपूर्वक श्रमदान गरेर निर्माण सुरु गरे पनि बजेट अभाव र सरकारी प्राथमिकताको कमीले यो परियोजना गौचरन र खेलमैदानमा सीमित भएको छ।

सेवानिवृत्त भारतीय सेनाका सुवेदार गोपीप्रसाद गुरुङलाई ६० वर्षअघिको दृश्य अझै ताजा छ। २०२१/२२ मा सित्तलेस्वाँरामा स्थानीय बासिन्दा बाग्लुङपानी, नाल्मा, गाउँसहर, पुरानकोट, तुर्लुङकोट, सिन्दुरे र दुराडाँडाबाट डोको, ढाकरमा सामल, गल, गैंती, कुटो, कोदालो, हँसिया, खुर्पा र बञ्चरो बोकेर विमानस्थल खन्न जुटेका थिए। “त्यतिबेला चैतेदसैँको मेला जस्तै लाग्थ्यो,” गुरुङ सम्झिन्छन्, “कोही खन्ने, कोही रुख–बुट्यान फाँड्ने, कोही ढुङ्गा–माटो फाल्ने गर्थे। सबैको सपना थियो– जहाज चढ्ने।”

तर, यो सपना अधुरै रह्यो। तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य श्रीकान्त अधिकारीले रु ३,३०० को मौखिक ठेक्का दिएर निर्माण सुरु गराए पनि सरकारी बजेटको अभावले काम अघि बढेन। २०६४ माघमा स्थानीयको अगुवाइमा निर्माण समिति दर्ता भयो। तत्कालीन अध्यक्ष श्यामबहादुर गुरुङको नेतृत्वमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०६४/६५ मा रु १८.३ लाख र जिविस, गाविसबाट रु ७ लाख जुटाएर पहिलो चरणको काम सम्पन्न भयो। दोस्रो चरणमा २०६५/६६ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु २० लाख र प्राधिकरणबाट रु १५ लाख प्राप्त भयो। मैदान फराकिलो बनाउने, पर्खाल उठाउने र खानेपानीको लाइन व्यवस्थापनमा कूल रु ६० लाखको काम भएको समितिको तथ्याङ्क छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक समूहले ट्वीनअटर विमानका लागि ८५० मिटर लम्बाइ र १५० मिटर चौडाइको (२४५ रोपनी) मैदानको नक्सा तयार गरेको थियो। करिब ५० प्रतिशत काम सम्पन्न भए पनि बाँकी कामका लागि बजेट विनियोजन नहुँदा परियोजना अलपत्र पर्‍यो। हाल यो मैदान स्थानीयका लागि गौचरन र खेलमैदान बनेको छ, जहाँबाट बेँसीसहर–नाल्मा सडकसमेत निर्माण भएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं लमजुङका सङ्घीय सांसद पृथ्वीसुब्बा गुरुङले विमानस्थल निर्माणलाई निर्वाचनको एजेण्डा बनाएका थिए। मन्त्री हुँदा उनले बजेट विनियोजन र प्राविधिक अध्ययनमा पहल गरेका थिए। तर, पछिल्लो समय उनले नै यो विमानस्थल बन्न नसक्ने बताएको निर्माण समितिका अध्यक्ष गोपीप्रसाद गुरुङ बताउँछन्।

“जहाज चढ्ने सपना बोकेर श्रमदान गर्ने अघिल्लो पुस्ता धेरैजसो बितिसके,” अध्यक्ष गुरुङ भन्छन्, “लमजुङवासीको आफ्नै विमानस्थलबाट उड्ने रहर सायद अब पूरा नहुने हो।”