घुस प्रकरणको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्तामाथि राजीनामा तयारीमा

घुस प्रकरणको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्तामाथि राजीनामा तयारीमा


काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तामाथि ७८ लाख घुस मागेको अडिओ टेप सार्वजनिक भएपछि चौतर्फी दबाब बढेको छ। यो विवादले उनलाई राजीनामा दिने तयारीमा पु¥याएको छ। स्रोतका अनुसार, उनी अहिले यो विषयमा परामर्श गरिरहेका छन्।

२०८१ पुस अन्तिमतिर मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख र नेकपा एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख घुस मागेको अडिओ केही दिनअघि सार्वजनिक भएको थियो। घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अख्तियारले यो विषयमा छानबिन शुरू गरेको स्रोतले जनाएको छ। अडिओ टेप सार्वजनिक भएलगत्तै सत्तापक्षीय नेपाली कांग्रेसका सांसदहरूले गुप्ताको राजीनामा माग गरेका छन्। यस्तै, प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले पनि उनको राजीनामा माग्दै दबाब बढाएका छन्।

सबैतिरबाट आएको यो दबाब थेग्न नसकेपछि मन्त्री गुप्ता राजीनामा दिने मनस्थितिमा पुगेका छन्। उनले  भने, “यतिका विषय उठिसकेपछि म छलफलमै छु।” मन्त्री गुप्ता अहिले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्शको पर्खाइमा छन्। ओली हाल उपत्यकाबाहिर छन् र काठमाडौँ फर्कने क्रममा रहेको बताइएको छ। गुप्ताले भने, “प्रधानमन्त्रीसँग मेरो भेट भएको छैन, कुरा पनि भएको छैन। म पाँच–सात दिन जिल्लामा थिएँ, भर्खरै काठमाडौँ आएको छु। बालुवाटार जान पनि पाएको छैन।” उनले थपे, “हामीले पार्टीको निर्देशन मान्ने हो। पार्टीले के भन्छ, त्यही गर्छु। कसैले राजीनामा माग्दैमा दिँदै हिँड्ने हो भने धेरै कुरा उठ्छन्। तर, प्रमाणित भएको छैन।” २०८१ असार ३१ गते मन्त्री नियुक्त भएका गुप्ताप्रति प्रधानमन्त्री ओली समेत असन्तुष्ट रहेको निकट स्रोतले बताएको छ। मन्त्री गुप्ताले आफूमाथि लगाइएको आरोप पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले भने, “मेरो कुनै संलग्नता छैन, मैले एक रुपैयाँ पनि लिएको छैन। पैसा राखिएको भनिएको टेबल मेरो मन्त्री क्वाटरमा छैन। रेडियामा बोलेको भनिएको कुरा पनि मेरो होइन।” उनले यो प्रकरण सुनियोजित षड्यन्त्र भएको दाबी गर्दै थपे, “कसले पैसा दियो, व्यक्तिको नाम पनि उल्लेख छैन। यो कुन प्रसङ्गमा रेकर्ड गरिएको हो, मैले त्यस्तो बोलेकै छैन। सरुवाको कुरा भएको छ, तर मैले कसैलाई तानेको वा पठाएको छैन।” अख्तियारले यो प्रकरणमा छानबिन शुरू गरेपछि मन्त्री गुप्ता राजीनामा दिने निष्कर्षमा पुगेको बताइएको छ।