पाल्पा — राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सिद्धबाबा सुरुङमार्गको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान क्षेत्रमा निर्माण भइरहेको सुरुङमार्गको ‘ब्रेक थ्रु’ भइसकेपछि कामले गति लिएको हो।
सिद्धबाबा सुरुङमार्ग आयोजनाको कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ५७.५१ प्रतिशत र वित्तीय प्रगति ५१.१ प्रतिशत पुगेको छ। हाल मुख्य सुरुङको १०८९ मिटर इन्भर्ट र ८३४ मिटर लाइनिङको काम सम्पन्न भइसकेको छ भने थप २९२ मिटरमा लाइनिङको काम भइरहेको छ।
सुरुङमार्ग अन्तर्गत तीन वटा बाइपासमध्ये पहिलो बाइपासमा १४५ मिटर इन्भर्ट र १२४ मिटर लाइनिङ सकिएको छ। तेस्रो बाइपासमा १२५ मिटर इन्भर्ट र ३० मिटर लाइनिङको काम सम्पन्न भएको छ।
दुई लेनको मुख्य सुरुङमार्ग १०८९ मिटर लम्बाइको हुनेछ भने चौडाइ १०.५ मिटर र उचाइ करिब सात मिटर रहने छ। इन्भर्ट र लाइनिङको काम सकेपछि सुरुङ भित्र लाइटिङ, सञ्चार तथा सुरक्षा उपकरण जडान सुरु गरिने आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो।
सुरुङमार्ग कार्यस्थलमा सवारी साधन ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको छ। प्रतिनिधिसभाका सांसद ठाकुरप्रसाद गैरेसहित सरोकारवालाहरूले नियमित अनुगमन गरिरहेका छन्।
२०७९ सालदेखि निर्माण सुरु भएको सुरुङमार्ग २०८३ सालसम्ममा सक्ने लक्ष्य छ। कुल लागत सात अर्ब ३४ करोड रुपैयाँ रहेको छ। पहिरोबाट जोखिममा रहेको सिद्धार्थ राजमार्गको सो खण्ड सुरक्षित बनाउन सुरुङमार्ग निर्माण भइरहेको हो।

प्रतिक्रिया