मुस्ताङ – घरपझोङ गाउँपालिका–१ र २ लाई जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ। दुई वर्षको अवधिमा निर्माण सम्पन्न भएको यो बेलिब्रिजले स्थानीय बासिन्दालाई आवतजावतमा सहजता प्रदान गरेको छ।
बेलिब्रिज निर्माणका लागि सङ्घीय विशेष अनुदानबाट रु १ करोड ९७ लाख र घरपझोङ गाउँपालिकाबाट रु ९० लाख गरी जम्मा रु २ करोड ८७ लाख २६ हजार लगानी भएको गाउँपालिकाका सबइन्जिनियर राजन कँडेलले जानकारी दिनुभयो। बेलिब्रिजको लम्बाइ ४२ मिटर र चौडाइ ४.२० मिटर रहेको छ। यो निर्माण कार्य रविचक्र निर्माण सेवाले ठेक्का लिएर सम्पन्न गरेको हो।
राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक राजमार्ग नजिकै भएर पनि कालीगण्डकी नदीपारिका छैरो र चिमाङ गाउँका बासिन्दा आवतजावतका लागि ओझेलमा थिए। बेलिब्रिज निर्माणले यी गाउँका स्थानीय किसानलाई ठूलो राहत पुगेको घरपझोङ–१ का वडाध्यक्ष आशबहादुर थकालीले बताउनुभयो। यो बेलिब्रिजले स्थानीयको दैनिक जीवन र आर्थिक गतिविधिलाई सहज बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया