काठमाडौँ । पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी नेता विद्यादेवी भण्डारीले संसद विघटनको घटनाले आफूलाई पछ्याइरहने बारे आफू जानकार रहेको बताएकी छन् ।
मंगलबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको संसद विघटनबारे प्रश्नमा उनले संविधानले गरेको व्यवस्थाअनुसार काम गरेको बताइन् ।
‘संसद विघटन विगतको कुरा हो, यसले मलाई पछ्याइरहन्छ भन्ने कुरामा म जानकारै छु उनले भनिन्, ‘२०१७ सालको कुरा पनि इतिहासमा आइरहन्छ, पछि २०५१ मा पनि विघटन भएको छ त्यो पनि आइरहन्छ ।’
उनले थपिन्, ‘म राष्ट्रपति भएको बेलामा पनि दुईचोटि संसद विघटन भएको छ, त्यो आइरहन्छ, तर त्यसलाई मैले कुनै दबाब भन्दा पनि मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन गरेको हो, जे व्यवस्था छ त्यही गरेको हो ।’
उनले संसद विघटनको सदर कुनै दबाबमा नगरेको दोहोर्याइन् । ‘अब त्यसमा तपाईँहरू छलफलमा भाग लिन चाहनुहुन्छ भने त्यसको संवैधानिक, राजनीतिक र इतिहासका कुराहरू र देशलाई केगरी निकास दिनुपर्थ्यो, कुन बेला के काम गर्नुपर्छ त्यो कुराहरू छलफलको विषय हुन सक्छु उनले भनिन्, यसमा दबाब थिएन ।’
उनले थपिन्, ‘मैले संवैधानिक विधि व्यवस्था अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन गरेको कुरा जानकारी गराउन चाहन्छु ।’

प्रतिक्रिया