पोखरा, १ असार २०८२ । पोखराको रुपाकोट रिसोर्टका सञ्चालक पुष्प अधिकारी र उनको परिवारको नाममा हदबन्दीभन्दा बढी जग्गा रहेको पाइएपछि ३९ रोपनी जग्गा सरकारको नाममा लैजाने निर्णय भएको छ । मालपोत कार्यालय कास्कीले गरेको अनुसन्धानमा अधिकारीको काठमाडौं, चितवन, कास्कीलगायतका ठाउँमा हदबन्दीभन्दा धेरै जग्गा रहेको पुष्टि भएको हो ।
भूमिसम्बन्धी ऐन, २०२१ को पाँचौ संशोधन (२०५८) अनुसार नेपालभर एक व्यक्तिले १० बिघाभन्दा बढी जग्गा राख्न पाइँदैन । पहाडी क्षेत्रमा ७० रोपनी र परिवारका लागि थप ५ रोपनीसम्म राख्न सकिन्छ । यद्यपि, अधिकारी र श्रीमतीको नाममा ११४ रोपनी ८ आना जग्गा रहेको पाइएको छ, जुन कानुनी हदभन्दा धेरै हो ।
मालपोत कार्यालय कास्कीका प्रमुख चिरञ्जीवी शर्माले भने, “लामो अनुसन्धानपछि हदबन्दीभन्दा बढी जग्गा रहेको पाइएको हो । १० असारमा यो जग्गा सरकारको नाममा लैजाने निर्णय भएको छ ।”
यसअघि २०७६ मा ५ रोपनी र गत वर्ष ७ आना जग्गा सरकारको नाममा गएको थियो । २०६८ मा अधिकारीले रुपाकोट रिसोर्ट प्रालिलाई ४१ रोपनी १३ आना जग्गा बिक्री गरे पनि त्यसलाई समेत उनकै स्वामित्वमा गणना गरिएको छ ।
अधिकारीले भने अस्पष्ट ऐन, कर्मचारीको नियत र अवैज्ञानिक हिसाबले आफ्नो जग्गा हडपिएको आरोप लगाएका छन् । “कानुनमा अंश, दान, धितो लिलामबाट प्राप्त जग्गामा १.५ हदबन्दी छुट हुने व्यवस्था छ, तर कर्मचारीले त्यसलाई बेवास्ता गरे,” उनले भने । उनले कुन जग्गा सरकारलाई दिने भन्ने छनोटको अवसर नदिइएको र कर्मचारीको बेइमानीले सम्पत्ति खोसिएको दाबी गरेका छन् ।
अधिकारीले २०७६ मा हदबन्दीको विषय नउठेको र पटक–पटक आफूलाई बदनाम गराउने काम भएको बताए । उनले उच्च अदालत पोखरामा मुद्दा दायर गर्ने तयारी गरेका छन् ।
मालपोत कार्यालयले भने अधिकारीलाई पटक–पटक हदबन्दीबारे सोधपुछ गरेको तर उनले राजनीतिक प्रभाव प्रयोग गरी टार्ने गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया