रसुवा, १ साउन । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि केरुङमा अलपत्र परेका १,२०० नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काउने व्यवस्था गरिएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई स्वदेश फर्काउने प्रबन्धका लागि अनुरोध गरिएको छ।
केरुङमा रहेका नेपालीको भोजन र आवासको व्यवस्था चिनियाँ पक्षले गरेको छ। अलपत्र परेकामध्ये ९१ जना मालवाहक सवारीका चालक र सहचालक छन् भने ११७ जना कामको सिलसिलामा त्यहाँ रहेका नेपालीले पनि घर फर्कन आग्रह गरेका छन्।
असार २४ गते बिहान चीनतर्फबाट आएको हिमबाढी भोटेकोशीमा मिसिएपछि विनाशकारी बनेको थियो। बाढीले मितेरी पुल भत्काउनुका साथै रसुवागढी–स्याफ्रुबेसी खण्डको १६ किलोमिटर सडक पूर्णरूपमा अवरुद्ध भएको छ। बाढीमा परेर ११ जनाको शव र मानवअंग फेला परेका छन् भने १८ जना सम्पर्कविहीन छन्। रसुवागढी सुक्खा बन्दरगाह, तीनवटा जलविद्युत आयोजना र भन्सार क्षेत्रबाट करिब १०० गाडी बगाएको छ।
सडक विभागका अनुसार क्षतिग्रस्त सडकको अधिकांश स्थानमा मर्मत सम्पन्न भए पनि लिङलिङमा १२० मिटर सडक भत्किएको छ। भित्तो काटेर ट्र्याक खोल्ने काम भइरहेको छ। ट्र्याक खुलेपछि साना गाडी चलाउन शुरू गरिने र थप मर्मतपछि ठूला गाडी पनि सञ्चालन गर्न सकिने बताइएको छ।
मितेरी पुल पुनर्निर्माणको विषयमा भने अन्योल कायम छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित रसुवागढीको अवलोकनपछि सरकारले चीनलाई पुल निर्माणका लागि अनुरोध गर्ने निर्णय गरेको थियो। चिनियाँ पक्षले डोजर चलाउन थालेको देखिएकाले पुल निर्माण शुरू भएको अनुमान नेपाली अधिकारीहरूले गरेका छन्।

प्रतिक्रिया