रूपन्देही–३ उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक असोज २४ गते

रूपन्देही–३ उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक असोज २४ गते


काठमाडौं । निर्वाचन आयोगले रूपन्देही–३ उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आज (आइतबार) स्वीकृत कार्यक्रमअनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि १० बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिनको दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी असोज २३ गते बेलुका ५ बजेदेखि ९ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने तालिका तय भएको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ । निर्वाचन कार्यक्रमअनुसार कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।